जिल्ला प्रहरी कार्यालय म्याग्दीमा महिलामैत्री भवनको उद्घाटन (फोटोफिचर)

0
429

जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरभित्र निर्माणसम्पन्न महिलामैत्री भवनको बिहीबार उद्घाटन भएको छ । कुल ६ लाख ७२ हजार ४ सय २९ रुपैयाँको लागतमा निर्माणसम्पन्न भवनको विशेष समारोहबीच उद्घाटन गरिएको हो ।

जिल्लास्थित विभिन्न संघसंस्था, कार्यालय, व्यक्ति र बैङ्क तथा वित्तीय संस्थाको सहयोगमा भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कर्मचारीहरुको ७५ हजार र अन्य स्रोत स्थानीय व्यक्ति एवं संघसंस्थाबाट नगद, जिन्सी र चन्दा सहयोग सङ्कलन गरी भवन बनाइएको छ ।

नवनिर्मित भवनको उद्घाटन गर्दै सङ्घीय प्रहरी इकाई कार्यालय बागलुङका वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम गुरुङले नागरिकको सहयोगविना प्रहरीले मात्रै केही पनि गर्न नसक्ने हुँदा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको बताए । उनले समाजलाई रुपान्तरण र परिवर्तनका गर्नका लागि प्रहरी र नागरिक मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै प्रहरीले आफ्नो आचरणमा सुधार गरेर काम गर्दै जानुपर्ने बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सबैको सहयोगले गर्दा महिलामैत्री भवन निर्माणले पूर्णता पाएको हुँदा सेवा प्रदान गर्ने क्रममा सहजता आउने अपेक्षा व्यक्त गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलामैत्री भवनले पीडित महिला तथा बालबालिकाहरुलाई राहत मिल्ने बताउँदै आगामी दिनमा उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले महिलामैत्री भवन निर्माण नयाँ काम भएको बताउँदै कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने बताए ।

प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले पीडित महिला तथा बालबालिकालाई सहज रुपमा न्याय दिन र आवश्यकता अनुसार एकरातको भए पनि बासको व्यवस्थापनका लागि महिलामैत्री भवन निर्माण गरिएको बताइन् । उनले जिल्लामा महिलाको जनसङ्ख्या धेरै रहेको र घट्ने घट्ना तथा प्रहरीमा आउने मुद्दाको तथ्याङ्क हेर्दा महिलाको बढी देखिएको बताउँदै भौगोलिक विकटताका कारण सदरमुकामसम्म आएर सहज न्यायको अवसर प्रदान गर्न र पीडित महिलालाई आश्रय दिन भवन निर्माण गरिएको बताएकी छिन् ।

दुईवटा कोठासहितको नयाँ बनाइएको भवनमा एकवटा कोठामा बास बस्ने र अर्कोमा नागरिक सहायता कक्ष अर्थात् न्याय सम्पादनका लागि स्थापना गरिएको छ । महिलामैत्री भवनको नागरिक सहायता कक्षमा महिला प्रहरीमार्फत महिलाका गुनासा, समस्या र घट्नाको व्यवस्थापन गरी पीडित महिलालाई कानुनी उपचार एवं न्याय प्रदान गरिने प्रनाउ खड्काको भनाई छ ।

उक्त भवन उद्घाटन कार्यक्रमको अवसरमा महिलामैत्री भवन निर्माणमा आर्थिक तथा जिन्सी सामान सहयोग गर्ने संघसंस्था, कार्यालय तथा व्यक्तिलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल, जिल्लास्थित सहयोगी संघसंस्थाका प्रमुख÷प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्यामलाल न्यौपानेले आर्थिक विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रनाउ खड्काको अध्यक्षता र प्रहरी निरीक्षक सन्तोष रोकाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।