म्याग्दी खोलाको पानीले खवरा–पिपलडाँडामा सिँचाई

0
270

म्याग्दी खोलामा इनार बनाएर आधुनिक उपकरणको प्रयोग गरी बेनी नगरपालिका–२ ज्यामरूककोटमा रहेको सिँचाईको समस्या समाधान गर्न सक्रिय भएका छन् । तरकारी खेतीमा सक्रिय रहेका स्थानीयले सिँचाईका लागि प्रयोग गरिएका पानीको मुहान सुक्न थालेपछि राधाकृष्ण कृषि सहकारी संस्थाको सक्रियतामा जिल्ला कृषि विकास कार्यालयको १० लाख अनुदान तथा जनश्रमदानमा जिल्लामै पहिलोपटक आधुनिक प्रविधिको प्रयोग गरी लिफ्ट सिँचाईको निर्माण सुरू गरेका हुन्।

बेनपा–२ हाँडेभीरमा म्याग्दी खोलामा बगिरहेको पानीलाई खोला नजिक बनाइएको पक्की इनारमा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा रहेको खवरा, पिपलडाँडासम्म ५ सय ५० मिटर पाईपबाट पानी पु¥याउन सफल भएको लिफ्ट सिचाई निर्माण समितिका अध्यक्ष चन्द्र बहादुर कार्कीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार बिहिबार गरिएको परिक्षण सफल भएको छ । तरकारी खेतीको सम्भावना रहेको गाउँमा सिँचाईको अभावका कारण लक्ष्य अनुसारको उत्पादन हुन नसकेको अवस्थामा कृषि कार्यालयबाट १० लाख, स्थानीयबासीको चन्दा र जनश्रमदान गरी करिव १७ लाखको लगानी पुगेको बताए ।

उनले जिल्लामा पहिलोपटक प्रयोग गरिएको आधुनिक प्रविधिको लिफ्टबाट जंगलमा जमिनमुनी र रूखको प्रयोग गरी गाउँसम्म पाईप जडान गरिएको बताउँदै खडेरीमा खेतबारी बाँझो रहने समस्या समाधान हुने बताए । मौसमी तथा बेमौसमी तरकारी खेतीमा पकेट मानिदै आएको खवरा आसपासका बस्तीमा सिँचाईका साथै खानेपानीको समेत अभाव रहेको बताउँदै भविस्यमा खानेपानीको रूपमा समेत प्रयोग गर्न सकिने उपभोक्ता समितिका कृष्ण थापाले बताए ।

खोला नजिक विद्युतीय लिफ्टका लागि थ्रि फेज विद्युत मिटर जडान गरिएको छ ।खोलादेखी डाँडामा पानी चढाउन प्रयोग गरिएका मेसिनहरू अत्याधुनिक भएकाले पनि प्रतिघण्टा पानी सङ्कलनका लागी बनाइएको पोखरीमा आवश्यकता अनुसार पानी जम्मा गरिन्छ । बेनीबजारमा रहेको खत्री इलेक्ट्रोनिक्सको प्राविधिक सहयोगमा सम्पन्न गरिएको परियोजनाको आगामी शनिबार सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्युतीय लिफ्टका लागि पहिला ेबर्ष अनुमानित लागत भन्दा धेरै खर्च हुने भएकाले पनि आगामी बर्ष मर्मत तथा सञ्चालनका लागि कोषको स्थापना गरी खोला देखी पोखरीसम्मको संरचनामा समेत थप गरिने स्थानीयको भनाई छ ।प्रारम्भीक विवरण अनुसार ट्यांकीमा लगातार १२ घण्टासम्म पानी चढाउन सकिन्छ । सिँचाईले तत्काल ४० घर लाभान्वित हुनेछन् । हरेक बर्ष पुष महिना देखी बैशाखसम्म सिँचाईको अभावका कारण ब्यवसायीक तरकारी खेतीमा संलग्न कृषकहरू समस्यामा पर्ने गरेका छन् ।