घलेम्दीखोलाको पावरहाउसको शिलन्यास, ६ महिनामा परिक्षण उत्पादन हुने (भिडियो)

0
228

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको पावरहाउसको शिलन्यास गरिएको छ । आयोजनाका अन्य संरचनाहरूको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवम् प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले पावरहाउसको शिलन्यास गर्नुभएको छ ।

निलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।पावरहाउस नजिक कर्मचारी आवासगृहको काम समेत सुरु गरिएको छ ।निलगिरि खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्न सक्ने सम्भावनलाई मध्यनजर गरी रिटेनिङ वाल सहितको संरचना समेत सकिएको छ ।

निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रवन्धक निर्देशक श्रेष्ठले बताउनुभयो ।

सुरूङमार्ग देखी पावर हाउससम्मको पेनस्टक पाईप समेत ढुवानीको तयारी भइरहेको छ । पेनस्टक पाईपका लागि १० टन क्षमताको रोपवेकोका निर्माणकार्य सुरु भएको छ ।आयोजनाको ड्याम, इन्टेकमा आवश्यक पर्ने निर्माण साम्रागीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माणकार्यलाई सहज भएको आयोजनाले जनाएको छ ।

घलेम्दी खोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माण भइरहेको संरचनाको दैनिक सञ्चालक समितिका सदस्यबाट निगरानी, मजदुर र ठेकदारलाई आवश्यक पर्ने साम्रागी सुरूङमार्गबाट ट्याक्टरमा ढुवानी गर्ने गरिएको छ । आयोजनाको मुख्य काम सुरूङमार्गको फिनिसिङको कामलाई समेत तिब्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘बिमल’ले बताउनुभयो ।

पावर हाउस देखी ड्यामसम्म करिव १ सय ५० जना मजदुर कार्यरत छन्।दैनिक गरिने कामको अघिल्लो दिनमै योजना बनाइने भएकाले पनि निर्माणकार्य सहज भएको रिजालको भनाई छ । रोपवेमार्फत करिब २०० मिटरमाथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको बताए । आयोजनाका संस्थापक सेयरहरूले समेत निर्माणकार्यको प्रगतिले आफ्नो लगानी सुरक्षित भएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्याम आसपासको संरचनामा भइरहेको कामको म्याग्दीका साथै देशभर रहेका लगानीकर्ताहरू समेत पुग्ने गरेका छन् ।

आगामी ६ महिनाभित्र परिक्षण उत्पादन गर्ने तयारी भइरहेको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ ।

३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा विभिन्न वित्तिय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।