पश्चिम म्याग्दीको मंगला गाउँपालिका शुक्रबार एक समारोहबीच साक्षर गाउँपालिकाका रुपमा घोषणा भएको छ । गाउँपालिकाको ५ ओटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका सबै निरक्षर व्यक्तिले अक्षर चिनेर पढ्न र लेख्न सक्ने भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ११ हजार ७०९ अर्थात् ९६ दशमलव ३५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयको संयोजन र मंगला गाउँपालिकाको आयोजनामा साक्षर घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो । यसअघि गाउँपालिकालाई साक्षर घोषणा गर्ने अभियानमा शिक्षा कार्यालय, विद्यालय, सामुदायिक अध्ययन केन्द्र, साविकका गाविस कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

मंगला माविको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आगामी दिनमा पनि साक्षर घोषणा अभियानलाई निरन्तरता दिनुपर्ने बताए । उनले गाउँपालिका अन्तर्गत विभिन्न वडामा रहेका निरक्षर समूहलाई पनि साक्षर बनाएर साक्षरता प्रतिशत बढाउनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले गाउँपालिका साक्षर भएको घोषणा एवं प्रतिबद्धता वाचन गरेका थिए ।
सोही कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नेपाल सरकारको नीतिअनुसार साक्षर घोषणा कार्यक्रम अघि बढाइएको बताएका छन् । उनले हालसम्म जिल्लाका ४३ ओटा वडा साक्षर घोषणा भैसकेको हुँदा आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने जानकारी दिए ।

एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा हालसम्म ४३ ओटा वडालाई साक्षर घोषणा गरिसकिएको छ । आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नेपालको ३९औं साक्षर जिल्लाका रुपमा घोषणा गर्ने तयारीलाई समेत तिब्रता दिइएको छ । कुल ९६ दशमलव २७ प्रतिशत जनसङ्ख्या साक्षर भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ ।

कार्यक्रममा मंगला स्रोतकेन्द्रका स्रोतव्यक्ति डेकबहादुर बानियाँले गाउँपालिकाको साक्षरता प्रगति विवरण प्रस्तुत गरेका थिए। मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाको अध्यक्षता, उपाध्यक्ष सिर्जना केसीको स्वागत र स्रोतव्यक्ति डेकबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा मंगला मावि बाबियाचौरका प्रधानाध्यापक गमबहादुर केसी र महेन्द्ररत्न मावि बराङ्जाका प्रअ कृष्णलाल सापकोटाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मंगला शिक्षा क्याम्पसका विद्यार्थीहरुले गीतसङ्गित र नृत्य प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थीलगायत सहभागी ¥यालीले बाबियाचौर बजारको परिक्रमा गरेको थियो ।