आफ्नो दिवंगत आफन्तको सम्झनामा एक बृद्धाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित बृद्धाआश्रमका बृद्धबृद्धालाई भोजन, न्यानो कपडा र नगद सहयोग गरेकी छन् । केहीदिन अगाडी आफ्नै चौरासीमा बचत भएको आर्थिकले बेनपा–७ विरेन्द्रचोक निवासी रुपदेवी खत्रीले शनिबार आश्रममा बसोबास गर्ने बृद्धबृद्धा, कर्मचारी, शालग्राम बेद संस्कृत विद्यालयका विद्यार्थी गरी १ सय जनालाई भोजन, न्यानो कपडा र जेष्ठ नागरिक बृृद्धआश्रम अन्नदान क्षेत्रलाई नगद ५० हजार सहयोग गरेकी हुन् ।

आश्रममा आयोजित कार्यक्रममा बृद्धा खत्रीले घरपरिवार भएर पनि आश्रममा बस्ने बृद्धबृद्धाको अवस्था देखेर दुख लागेको बताइन् । उनले उमेरहुदाँसम्म छोराछोरी हुर्काउने र पढाउने मातापितालाई उमेर ढल्केपछि साहरा दिनुपर्नेमा अपहेलित भएर आश्रममा पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाईन् । दिवंगत पृत्रीका साथै सन्ततीको कल्याणका लागी सामाजिक कार्यमा सहयोगलाई निरन्तरता दिने बताईन् । सोही अवसरमा खत्रीले आश्रमभित्रका ६५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा समेत वितरण गरेकी थिईन् ।

कार्यक्रममा अन्नदान क्षेत्रका अध्यक्ष एवम् गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले तिर्थयात्राको नाममा आश्रममा छोड्ने छोराबुहारी समेत भेटेको बताए । उनले आश्रममा ब्यक्तिगत र संघसंस्थाबाट प्राप्त भएको सहयोगले भोजनमा सहज भएको बताए । उनले जन्मदिन, बार्षिकोत्सव, दिवंगत आफन्तको सम्झना लगाएत विभिन्न कार्यक्रमहरूबाट सहयोग गर्ने गरिएको बताए। आश्रममा गलेश्वर, मुक्तिनाथ लगाएतका तिर्थयात्रामा जाने भक्तजनहरूलाई समेत निशुल्क भोजन सहित बस्ने ब्यवस्था रहेको छ । आश्रममा रहेका बृद्धबृद्धाले सहयोगदाताले उपलब्ध गराएको भोजनले परिवारको झल्को मेटिने बताउँछन् । कार्यक्रममा सहयोगदाता खत्रीका आफन्त, अन्नदान क्षेत्र ब्यवस्थापन समितिका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।