बेगखोलाकी नमुना महिला

0

बच्चाले त्यसबेला र त्यसदिन जन्म लिन्छ, जब ग्रह नक्षत्रहरुमा किरणहरु उसको व्यक्तिगत कर्मसँग गणितीक रुपले मेल खान्छन् । उसको जन्म कुण्डली उसको चुनौतिपूर्ण चित्र हो । जसमा उसको अपरिवर्तनीय भूत र सम्भाव्य भविष्य झल्किन्छ । तर अन्तज्र्ञान भएका मानिसहरुले मात्र मानिसको जन्मफल राम्रोसँग सहीसही बुझ्न सक्छन् । यस्ता व्यक्तिहरु थोरै मात्र हुन्छन् ।
स्वामी युक्तेश्वर

तर कहिलेकाहीं कुनै कुनै उच्चकोटीको मनुष्य आत्मामा अवतरण भई स्वयं परमात्माले नै निर्देशन गर्दा रहेछन् । धेरै वर्ष अघिको कुरा हो । म्याग्दी जिल्ला अन्तर्गत पर्ने वेगखोला गाविस एक नारी थिईन् जसले भक्ति भजन गाउन थालेपछि रघुगंगा गाउँपालिका वडा नं. १ अन्तर्गत वेग देउरालीमा अवस्थित श्री धौलेश्वर शिवालय मन्दिरका भक्तजन लगायत पण्डित, पुरोहित, पूजारी समेतलाई रुवाउन सक्ने क्षमता राख्थे ।

त्यो गीत भित्रैदेखि संगीत लहर बनेर आउने गर्दथ्यो । कसैबाट सिक्नु पर्दैनथ्यो । आफसेआफ अन्तरआत्मादेखि नै सिलसिला बनेर आउँथ्यो । विभिन्न खाले रोगीहरु शरण लिन आउँदा अनौठो ओखती उपचार गरिदिएर निको पारिदिन्थे । त्यस्ता ओखती, जडिबुटीहरु पनि सपनामा जोगी, योगीले दिन्थे । ओखती मात्रै होइन विभिन्न दिव्य मन्त्रहरु पनि धमाधम सपनामा दिन्थे ।

दिनेवाला को थियो । निर्देशन दिनेवाला को थियो , परिचालन गर्ने वाला को थियो, सपनामा दिव्य मन्त्र, ज्ञान र जडीबुटीको शिक्षादिक्षा दिनेवाला को थियो आदि ईत्यादि सुक्ष्म ज्ञान हामी जस्ता अल्पज्ञानीलाई थाहा हुने कुरै रहेन । यो सिर्फ जसको शरीरमा शिवतत्व अवतरण ग¥यो सायद उनै नारीलाई गहिरो ज्ञान एवम् महसुस भएको हुन सक्छ, आत्माभित्रको प्रकाश कस्तो हुन्छ भनी अनुभूति भएको हुन सक्छ । अरबौं प्राणीहरुको चेतन केन्द्रमा पुग्ने तत्वज्ञानीहरुले समस्त विश्व ब्रह्माण्डको दर्शन गर्न सक्छन् र त्यतिबेला मनुष्यहरुको भूत, भविष्यमा कोरिएका भाग्य रेखाहरु पनि देख्न सक्छन् ।

यी सबै ज्योतिष विज्ञानसँग मेल खाने कुराहरु हुन् । ती नारी जसले जो कोहीको अनुहार हेरेको भरमा उसको भविष्यवाणी गरिदिन्थे । ग्रहादिको प्रभावबाट मुक्त हुन सकिने केही आध्यात्मिक उपायहरु दिन्थे ।

तिनै नारीले कालान्तरमा म्याग्दी जिल्लाको वेगखोला गाविसमा नेपालकै लामो र अग्लो पुल बन्न सक्छ भनी सुन्दर परिकल्पनाको चित्र आफ्नो मनमष्तिष्कमा उतार्दै निकट भविष्यमा नै आफ्नो वेगखोला गाउँ पर्यटकीय क्षेत्र बन्न सक्छ भनी सुन्दर सपनाहरुको भविष्यवाणी गर्ने अजीवका नारी हुन् ओमकुमारी फगामी ।उहाँको जन्म पिता नन्दबहादुर फगामी र माता मतिसरा फगामीको कोखबाट जेठी पुत्रीको रुपमा वि.सं. २०३२ साल पौष १५ गतेका दिन वेगखोला गाविस अन्तर्गत वराहथान भन्ने ठाउँमा भएको हो ।

प्रारम्भिक शिक्षा तत्कालीन श्री महादेव निमावि वेगखोला (हाल मावि) बाट आफ्नो विद्यार्थी जीवन थालनी गरेका फगामी हुने बिरुवाको चिल्लो पात भने झैं सानै उमेरदेखि अति नै चलाख बुद्धि हुनुको साथै पढाईमा लगनशील स्वभावमा हक्की एवम् प्रगतिशील र गुणमा अनुशासित विद्यार्थी थिइन् । जसका कारण त्यस विद्यालयबाट राम्रो श्रेणीमा उत्तीर्ण भई हाई स्कुल अध्ययनको लागि तत्कालीन श्री मुक्तिधाम मावि राखु भगवतीमा भर्ना भई आफ्नो हाई स्कुलको अध्ययन शुरु गरेकी फगामीले वि.सं. २०४८ सालको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा नियमिततर्फ उत्तीर्ण भएकी थिइन् ।

यस पश्चात् युनिसेफ संस्थाद्वारा सञ्चालित प्रौढ शिक्षा लिई उकरिब ६ महिना जति शिक्षक प्रशिक्षण सेवा गरेकी ओमकुमारी फगामीले आफ्नो उर्जालाई बिस्तारै सामाजिक सेवामा लगाउन थालिन् ।नेतृत्वका प्रशस्त खुबी भएकी फगामीले बाँसबोट आमा समूह वेगखोलाको अध्यक्ष र मूल समितिको सचिव पदमा रही सक्षम नेतृत्व गर्दै आफ्नो समाजमा भएका थुप्रै किसिमका सामाजिक, विकृति र विसंगतिको विरुद्धमा उभिँदै आफ्नो कार्यकालमा थुप्रै उल्लेखनीय कार्यहरु कुशलतापूर्वक सम्पादन गरेकी थिइन् ।

यस्तै सिलसिलामा नेपाल सरकार, महिला तथा बालबालिका कार्यालय म्याग्दीले म्याग्दीका केही गाविसहरुलाई छनौट गरी आफ्नो महिला जागृति तथा आयआर्जन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएकोले उक्त कार्यक्रम ती गाविसहरुमा लैजानको निमित्त प्रत्येक गाविसबाट एउटा सक्षम योग्य व्यक्ति छनौट गर्नुपर्ने थियो । यसै क्रममा वेगखोला गाविसबाट श्री ओमकुमारी फगामीलाई छनौट गरी केही दिनको तालिम पश्चात् सामाजिक परिचालिका पदमा राखेर जिम्मेवारी दिएको थियो ।

यसपछि बदलिँदो समय र परिवर्तनसँग महिलाहरुको हकहित एवम् अधिकार संरक्षण सम्वद्र्धन गरी विकासको मूल प्रवाहमा समाहित गर्न ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रको समग्र विकास गर्न विपन्न महिला वर्ग, समुदायको जीवनस्तर माथि उकास्न महिला सशक्तिकरण क्षमता अभिवद्धि र व्यक्तित्व तथा नेतृत्व विकास गर्न वडा नं. १ देखि ९ वडासम्म छरिएर रहेका सम्पूर्ण महिलाहरुलाई एकीकृत गर्दै सिंगो समाजको उन्नति प्रगतिका लागि वि.सं. २०५६÷०५७ सालदेखि टोलटोलमा गई समूह गठन गर्नेदेखि लिएर संस्था स्थापना, दर्ता सहकारीको विनियम, सिद्धान्त, मूल्य र मान्यतामा रही काम गर्नको लागि नेपाल सरकार सामाजिक परिचालिकाको पदमा खुल्ला आयोग दिन लगाई थोरै मात्र मासिक रुपमा प्रोत्साहन भत्ता दिने गरी अस्थायी नियुक्ति पत्र, प्रमाणपत्र दिएर काममा खटाएको थियो ।

यसरी ओमकुमारी फगामीले आफ्नो गाविसमा सक्षम सामाजिक परिचालिकाको जिम्मेवारी बहन गर्दै ९ वटै वडामा आफ्नो पिठ्यँुमा नाबालक नानी, काँधमा संस्थाको जिम्मेवारी र मनमा उद्देश्य बोकी झण्डै ३ वर्षसम्म कठोर संघर्ष गरेकी फगामी देउराली महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना गर्न सफल भएकी थिइन् ।

थोपाथोपा मिलेर सागर बन्छ, रुपैयाँरुपैयाँ मिलेर हजार बन्छ भन्ने उक्तिलाई मूल मन्त्र बनाएर निरन्तर अगाडि बढेकी फगामीका साहसिक पाइलाहरुलाई जस्तोसुकै समस्या र चुनौतिले विचलित गर्न सकेन । परिणाम स्वरुप वि.सं. २०६६÷०९÷१४ गतेको दिनमा विधिवत् रुपमा डिभिजन सहकारी कार्यालय बाग्लुङ्गमा दर्ता गरी यस संस्थाको नाम शिवशक्ति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था स्थापित भएरै छाड्यो ।

यसरी छोटो समयको अन्तरालमा निकै राम्रो प्रगति र सफलता हासिल गर्दै आफ्नो संस्थाले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्दै वि.सं. २०७२ वैशाख ५ गतेका दिन सहकारीमा सम्पूर्ण घरधुरी आबद्ध बृहत घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री टेकबहादुर केसीज्यू र विशिष्ट अतिथि स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलज्यूको समुपस्थितिमा सम्पन्न भएको थियो । त्यसै समयमा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीज्यूबाट कदर पत्र एवम् प्रशंसापत्रबाटसमेत सम्मानित भएकी थिइन् ।

यसै क्रममा वि.सं. २०७० सालदेखि श्री महादेव माविका जेहेन्दार एवम् एसएलसीमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता प्रशंसनीय कार्यको थालनी गरेको छ । यसका साथै श्री महादेव माविका छात्राहरुका लागि सेनिटरी प्याड वितरण गरिएको थियो ।

वि.सं. २०६९ सालदेखि यस संस्थालाई प्रवद्र्धन गर्ने गरी प्रत्येक वर्ष गाउँ परिषदमा छुट्याइने महिला लक्षित वर्गको रकम महिलाहरुलाई उपलब्ध गराउँदै आएको छ । यति मात्र होइन ग्रामीण तहमा अधिकांश निम्न वर्गका जनताहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा अतुलनीय टेवा दिएको छ । जसले गर्दा हरेक मान्छेलाई बचत गर्ने बानीको विकास भएको छ ।

जीविकोपार्जनको लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग संयोजकको भूमिका निर्वाह गरी कृषिमा आधारित तरकारी खेती, व्यवसाय प्रवद्र्धनका लागि सदस्यहरुलाई सीप विकास तालिम प्लाष्टिक, टनेल वितरण गर्दै आएको छ र व्यवसायिक तरकारी ेखती, करेसाबारीको लागि कृषकहरुलाई मौसम अनुसारको बीउबिजनहरु, पशुपालनको लागि भकारो सुधार, ब्याड राँगो, कुखुरापालन तालिम, कुखुरा चल्ला खरिद गर्न रु.सत्तरी हजार बराबरको आर्थिक सहयोग र प्राविधिक सहयोग गर्दै आइरहेको छ र पैसाको समस्या आइपरेको खण्डमा सहज रुपमा ऋण सहयोग दिलाउँदै आएको छ।

गाउँका मान्छेले आफ्नो धन सुरक्षित गर्न बेनी, पोखराको बैंक धाउनुपर्ने बाध्यता थियो । त्यस झमेलाबाट वेगबासी राम्ररी मुक्त भएका छन् । अन्तरजिल्ला अन्तर संस्था रेखांकन भ्रमण तथा तालिम महिला तथा बालबालिका कार्यालयमा माग गरी क्षमता विकास स्तर वृद्धि गर्नका लागि विभिन्न ठाउँमा भ्रमण अवलोकन गर्ने गराउने कार्य गरेकी छिन् ।

संसारका सफल व्यक्तिहरुले आफ्ना हरेक चुनौतिहरुभित्र एउटा सुनौलो अवसर देखेका हुन्छन् । साँच्चि नै ओमकुमारी फगामी एउटा सफल पात्र हुन् जसले हिजोका आफ्नो चुनौतिहरु एउटा राम्रो अवसर देखेकी थिइन् । जसले गर्दा एउटा सक्षम नारीको पसिनामा सहकारी संस्था फुलेको र फलेको छ र एउटा निष्ठावान र शीलवान् नारीको त्याग र तपस्यामा आशा र भरोसाको रोशनी उदाएको छ । जसले गर्दा वेगखोलाबासीको भविष्य उज्ज्वल बन्दै गएको छ ।

यस अर्थमा वेगबासी सौभाग्यशाली छन् भनिरहँदा अतिसयुक्ति हुनेछैन । यस कारण म भन्छु– धैर्य के हो एउटा फूलेको फूललाई गएर सोधे हुन्छ । चुनौति के हो । एउटा झिल्कोबाट दियो बनेको ज्योतिलाई सोधे हुन्छ । त्यसै गरी संघर्ष के हो एउटा सफल नारी ओमकुमारीलाई सोधे हुन्छ ।

जनयुद्धकालमा जनप्रतिनिधिविहिन गाविसलाई समेत सम्हालेकी थिइन् । निडर एवम् हक्की स्वभावकी फगामीले आफ्नो गाविस मात्र नभै चिनेजानेका छिमेकी गाविसहरुका गरिब तथा उत्पीडित महिला वर्गहरुमा आइपर्ने अन्याय, अत्याचार, दमनको विरुद्धमा सारथी बनेर सत्यको पक्षमा वकालत गर्दै थुप्रै मुद्दाहरु आफ्नो विवेक र तर्कशक्तिको सदुपयोग गरी पीडितहरुलाई न्याय दिलाउँदै आएकी छिन् ।

यति मात्रै होइन आफ्नो महिला सहकारी संस्थामा आबद्ध बाँदुक, तिप्ल्याङ्गका महिला सदस्य दिदीबहिनीहरुलाई भौगोलिक विकटताको कारण आवतजावतमा कठिनाई परेको मर्मलाई राम्ररी बुझेकी ओमकुमारी फगामीले धेरै वर्ष अघिदेखि नै वेग बाँदुक जोड्ने झोलुङ्गे पुल भइदिएको भए हाम्रा दिदीबहिनीहरुलाई आवतजावतमा अत्यन्तै राम्रो सुविधा हुने थियो भनी अन्तरचाहना र परिकल्पना गरेकी थिइन् ।

संसारमा जोसँग आशावादी सोच छ, जोसँग इच्छाशक्ति प्रबल छ, जोसँग जीवन र जगतलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । वास्तवमा त्यस्ता मान्छेहरु नै सफल भएको देखिन्छन् । यस्तो मनोविज्ञानका फगामीले आफ्नो गाउँमा विभिन्न सम्भावनाहरुमध्ये यसै झोलुङ्गे पुललाई नै सफल निर्माण गर्न सकियो भने आफ्ना गाविसका जनताहरुलाई सुविधा हुनुको साथै पर्यटकीय दृष्टिले वेगखोलाको भविष्य उज्ज्वल हुने सम्भावना देखेपछि पुल निर्माण योजनालाई सफल बनाउनको निम्ति अर्जुनदृष्टि लगाएकी थिइन् ।

यस पश्चात् वेगखोलामा पुल निर्माण योजनालाई जिल्लाले उच्च प्राथमिकतामा राख्दै सो योजनालाई सर्वदलीय बैठकबाट पारित ग¥यो । अनुमानित ३४५ मिटर लम्बाईको पुललाई ३६५ मिटर लम्बाईको बनाउनुपर्छ भनी फगामीले निवेदन गरेपछि नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलको विशेष पहल कदममा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहज्यूले पारित गरिदिनुभएको थियो ।

नेपालकै लामो झोलुङ्गे पुलको डिटेल सर्भे वि.सं. २०७२ साल असोज २२ र २३ मा भएको थियो र वि.सं. २०७३ साल जेठ ३१ गतेको दिनमा स्थानीय विकास अधिकारी श्री चिरन्जीवी पौडेलज्यूको बाहुलीबाट ३६५ मिटर लामो पुलको शिलान्यास भएको थियो ।

यस शिलान्याससँगै वेगखोलाको गौरवशाली इतिहास कोरिएको छ । यसको पछाडि समाजका विभिन्न व्यक्तित्वहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र योगदान रहँदै आएको छ । तथापि यस सफलताको पहिलो श्रेय फगामीलाई नै जान्छ ।
यसै गरी फगामीले सहकारीको भवन निर्माण समितिको कोषाध्यक्ष, वेगखोलामा बृहत खानेपानी योजनाको कोषाध्यक्ष, यातायात निर्माणतर्फ घुमाउनेताल पिप्ले भगवती वेगखोला, चिमखोला, कुइनेमंगले मोटरबाटो उपभोक्ता समितिको कोषाध्यक्ष र पुल निर्माण उपभोक्ता समितिको सदस्य भई उल्लेखनीय भूमिका निर्वाह गरिसकेकी छिन् ।

हाम्रो समाजमा सृजनशील व्यक्तिहरुको कदर गरिनु पर्दथ्यो तर गरिँदैन । बरु ईष्र्या डाह गरिन्छ, खुट्टा तानिन्छ । राम्रा समाजसेवीहरुलाई प्रोत्साहित गरिनुपर्दथ्यो तर गरिँदैन । बरु ओझेलमा पार्ने कालो खेल खेली निरुत्साहित गरिन्छ । अरुले गरेको राम्रा कामहरुमा उभिँदै आफूले जस लिने गलत प्रवृत्ति हावी हुँदै गएको देखिन्छ । यस्तो घटिया संस्कारबाट जबसम्म समाजले मुक्ति पाउँदैन, तबसम्म समाजमा ओमकुमारी फगामी जस्ता समाजसेवी, इमान्दार, कर्मठ, जुझारु, साहसी, त्यागी व्यक्तिहरु समाजबाट विस्थापित हुँदै जाने सम्भावना प्रबल देखिन्छ ।

जनताको सेवा गर्ने भने पछि हुरुक्क हुने फगामीले राजनीतिलाई राम्रो माध्यमको रुपमा हेरेकी थिइन् । तर कर्तव्यनिष्ठ भई पार्टी र जनतालाई योगदान दिने इमान्दार कार्यकर्ताको पार्टीबाट उचित मूल्याङ्कन हुन नसक्ने र राजनीतिक कार्यकर्ताको क्षमता र योगदानको आधारमा कदर हुन नसक्ने संकेत देखेपछि फगामीले जिल्लाकै नेतृत्व गर्न सक्ने क्षमता आफूसँग हुँदाहुँदै पनि सामान्य मतदाताको रुपमा रहने मनस्थिति बनाएकी छिन् ।

जनकल्याणको लागि समाजसेवा र आत्म कल्याणको लागि आध्यात्मिक साधनालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएकी फगामीले भारतका विश्व प्रसिद्ध सन्त डा. नारायणदत्त श्रीमालीज्यूका परमशिष्य साधक श्री लिलाराम पुर्जाज्यूको माध्यमबाट वि.सं. २०५६ सालतिर महान गुरु श्रीमालीज्यूको दिक्षा लिई निरन्तर मन्त्र साधना गर्दै आएकी छिन् ।

जसले आफू स्वयंलाई जान्दैन, उसले संसारलाई जान्न सक्दैन । जसले संसारलाई जान्दैन, उसले संसारबाट केही पाउने छैन । केवल खाली हात फर्किनुपर्नेछ । जसले आफू स्वयं जान्दछ, उसले संसार आफूभित्र पाउनेछ । त्यतिबेला मात्र जीवनको अमृत रस जीवनको अर्थ आफैभित्रबाट प्राप्त हुनेछ । यसकारण आफूलाई चिन्नु नै सम्पूर्ण मनुष्यको परम धर्म हो भनी बुझेकी फगामीले प्रशस्त आध्यात्मिक अनुभव र अनुभूति बटुलेकी छिन् ।

वि.सं. २०६० देखि आजसम्म निरन्तर योग साधनामा जोडिँदै आएकी छिन् । यसरी लामो समयदेखि लगातार साधनाबाट आफूलाई निखार्दै आएकी फगामीले वि.सं. २०७० सालमा योग प्रशिक्षक कोष लिई नवीन आनन्द योग केन्द्र नेपालको योग प्रशिक्षक समेत बनेकी छिन् र वि.सं. २०७२ सालमा विधिवत् रुपमा स्थापित नवीन आनन्द योग केन्द्र नेपालको केन्द्रीय कोषाध्यक्ष पदमा रही विभिन्न समयको विभिन्न कार्यक्रमहरुमा अति नै प्रशंसनीय एवम् सराहनीय कामहरु गरी सफल नेतृत्व गरिरहेकी छिन् ।

अंग्रेजीमा एउटा भनाई छ–Never blame any day in your life. good day gives you happiness. Bad day gives you experience and wrost day gives you a lesson. All are essential for life.

माथिका यी भनाइका सार जस्तै ओमकुमारी फगामीले जान अन्जान आफ्नो जीवनको सार बुझेकी रहिछन् । जसको कारण आज उनको सांसारिक जिन्दगी रित्तो भए पनि आध्यात्मिक रुपमा आध्यात्मिक जिन्दगी आत्म सम्मान र आत्म सन्तुष्टिले भरिपूर्ण छ ।
प्रस्तुती: नवीन जुग्जाली
मालिका–७, बिम, म्याग्दी