आन्तरिक पर्यटकलाई लोभ्याउँदै भकिम्लीको बेलढुंगा(भिडियो)

0
416

बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाईमा परेको छ । प्रचारप्रसार र पुर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि यूवाहरूले विदानको समयमा समुह बनाएर बेनी हुदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् ।

पछिल्लो एकहप्तामा बागलुङ र पर्वतबाट मोटरसाईलमा यूवाहरूको समुह भकिम्लीको स्वर्गाआश्रम हुदै बेलढुंगामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोज बहादुर जिसीले बताए ।‘चहलपहल सुरु भएको छ, पदमार्ग बनाउन सम्बन्धित निकायबाट बजेटको आवश्यकता छ’ उनले भने ।

जिसीका अनुसार बेलढुंगाका बारेमा बेनीअनलाइनले स्थलगत रुपमा समाचार प्रकाशित गरेपछि शनिबार बागलुङबाट राजेश घर्ती, श्याम गौतम, सविन कार्की लगाएतको ८ जनाको टोलीले सदरमुकाम बेनी हुदै बेलढुंगा बसेर एकरात गाउँमै विताएर फर्किएको बताए । अवलोकन गरेर फर्किएका राजेश घर्तीले आर्कषक पर्यटकीय गन्तब्य भएकाले पदमार्ग र होमस्टेको ब्यवस्थापन हुनुपर्नेमा बताए । ‘पाँचवटा जिल्ला देखिन्छ ।बेलजस्तै ढुंगामाथीबाट देखिने दृष्यले सबैलाई लोभाउँछ’ उनले भने ।

छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको आसपासको अवस्थित बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तब्य बनाउन सकिने प्रसस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसार नहुदाँ ओझेलमा छ । पुर्वाधारको अभावले पनि पैदलमार्गबाट अग्लो पहाडमा रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग सहित धौलागिरि सहितका हिमश्रंखलाको अवलोकन गर्ने गरिएको छ ।

धार्मिकस्थल स्वर्गाआश्रमबाट करिव ४५ मिनेटको दुरीमा छ ।बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि,गुर्जा,चुरेन,निलगिरी लगाएतका एकदर्जन हिमश्रंखला,लालीगुराँसको घना जंगल,बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छ ।जंगलको बीचमा रहेको अग्लो ढुंगा सम्म पुगेपछि त्यहाँ करिव ३० जना बस्न मिल्छ । सबै एकैपटक ढुंगामा बस्दा हल्लिएको महसुस हुने भकिम्लीका डेक बहादुर घर्तीमगले बताए ।

उनले विस्तारै प्रचारप्रसार हुन थालेपछि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत घुम्न आउन थालेको बताए ।प्राचिनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थरमा बनाएको बाटो हुदै पुगिने उक्त ठाउँलाई सप्त ऋषी बेलढुङ्गा समेत भन्ने गरिन्छ । स्वर्गाआश्रम देखी बेलढुंगासम्म २ सयबर्ष अगाडीसम्म तपस्या गर्ने स्थानहरु अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जंगलभित्रको यात्रा गरेपछि अग्लो ढुंगामा पुगेर अवलोकन गर्न मिल्छ ।