म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्धेश्यले आफ्नो गाउँ भित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा रोपेका विरुवाको संरक्षणमा एक ब्यक्तिले दैनिक समय दिने गरेका छन् । बेनी नगरपालिका–२ खवराका चन्द्रवहादुर कार्कीले वनजंगलको विनासका कारण विग्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न,पानीका मूलहरुको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्धेश्यले भिन्न भिन्न स्थानमा हालसम्म ११ सय विरुवा रोपेको बताए ।

‘रोपेका सबै विरुवा भएको ठाउँमा समय मिलाएर जान्छु । मान्छेले समेत विरुवामा क्षती पुर्याएको देखर दुख लाग्छ’ कार्कीले भने । उनले सदरमुकाम बेनी आसपासका सडक संगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा बरपिपलको विरुवाका साथै विभिन्न प्रजातिका फलफुल, फु्लहरु लगाएको बताए । १०८ वरपिपलका विरुवा रोप्ने र ती ठाउँहरुमा चौतारी निर्माण गर्ने अभियानमा जुटेका कार्कीले हालसम्म ९ वटा चौतारी निर्माण गरीसकेका छन् ।

उनका अनुसार सात्लेपानी, भसभसे, लव्लीहिल,खबरा,ठूलोखबरा लगाएतका ठाउँहरुमा बर,पिपल र समीका विरुवाहरु रोपेको र ९ वटा चौतारी बनाएको बताउँदै आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने बताए । बेनीमा कृषि उपज खरिद विक्रि केन्द्र ,किराना पसल र विभिन्न थरी फलफूलका विरुवाहरु विक्रि गदै आउनु भएको खवरा निवासी कार्कीले यस कार्यबाट आनन्द महसुस भएको बताए ।

‘मानिसहरु धर्म गर्न मन्दिर धाउँछन्,दानपुण्य गर्छन, तर मलाई त्यसो गर्नुभन्दा वातारणको संरक्षण पनि हुने र मानिसहरुलाई सुविधा पनि हुने वरपिपल रोप्ने र चौतारी वनाउने काम उपयुक्त लाग्यो र सोही गर्न थालेँ’ कार्कीले भने । ‘गाउँमा डोजर लगाएर बाटो खन्दा वन क्षेत्र नासियो,पानीका मुहान सुके,चौतारी पोखरीहरु पुरीए ’ कार्कीले भने।

‘यसको असर अहिलेदेखि नै पर्न थालेको छ, छोरा नातिहरुलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउन नपरोस् भनेर नै मैले यो अभियान थालेको हूँ, धर्मका लागि भन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हूँ ’ ५३ वर्षिय कार्कीले भने । उनी लगाएत खवराका स्थानीयको सक्रियतामा म्याग्दीखोलाबाट २ सय ५० मिटर माथी गाउँमा लिफ्ट सिँचाईको प्रविधि प्रयोग गरी पानी समेत लगिएको छ । ब्यवसायीक कृषिमा सक्रिय कार्कीले वातावरण संरक्षणमा देखाएको सक्रियताबाट स्थानीयले समेत सिको गर्न थालेका छन।