बेनी अस्पताल भ्रमणको केन्द्र बन्दै

0
310

पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल भ्रमणको केन्द्र बन्दै जान थालेको छ । ५० शैयामा स्तरोन्नति भएसँगै अस्पतालमा गुणस्तरीय सेवा प्रदान, दक्ष जनशक्ति र आधुनिक उपकरण थपिएपछि नमुना अस्पतालको रुपमा अगाडि बढेको अस्पताल, अन्य जिल्लाका लागि भ्रमणको केन्द्रविन्दु बनेको हो ।

यसैक्रममा सोमबार ५ नम्बर प्रदेश अन्तर्गत पाल्पा जिल्लाको रामपुर अस्पतालको एक टोलीले बेनी अस्पतालको भ्रमण गरेको छ । रामपुर अस्पताल विकास समिति अध्यक्ष कृष्ण अधिकारी, मेडिकल सुपरिटेन्डेन्ट डा. कथितराज घिमिरे, मेडिकल अधिकृत डा. सुधा त्रिपाठी र फार्मेसी अधिकृत रामप्रसाद कोईरालासहितको टोलीले अस्पतालको स्थलगत भ्रमण गरेको थियो ।

उक्त टोलीले जनस्वास्थ्य कार्यालय, अस्पताल प्रशासन, इन्डोर, ओपिडी, एक्सरे, इमरजेन्सी, फार्मेसी, शल्यक्रिया कक्ष र निर्माणाधीन अस्पतालको भवन निर्माण क्षेत्रको समेत अवलोकन गरेको थियो । खासगरी आफूहरु बेनी अस्पतालले सञ्चालन गरेको आफ्नै फार्मेसीको अवलोकनका लागि आएको टोलीमा सहभागी रामपुर अस्पतालका मेडिकल अधिकृत डा. सुधा त्रिपाठीले जानकारी दिइन् ।

रामपुर अस्पतालका अध्यक्ष र डाक्टरको टोलीले बेनी अस्पतालको समग्र पक्षको अवलोकन गरेको जनाएको छ । अवलोकनका क्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले अस्पतालमा बन्दै गरेको नयाँ भवनको निर्माण, अस्पतालको वर्तमान अवस्था, फार्मेसी सञ्चालन, अस्थायी संरचना, स्वास्थ्य सेवा लगायतका विषयहरुमा जानकारी गराएका थिए ।

यसैगरी बेनी अस्पतालका मेडिकल अधिकृत डा. अम्बालिका शाक्य, डा. अमुदा रेग्मी र डा. भूषण सुवेदीले समेत अस्पतालको सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए । सोही अवसरमा दुवै अस्पतालका सरोकारवालाहरुले आ–आफ्नो अस्पतालको अनुभव पनि साटासाट गरेका थिए । म्याग्दीको बेनी अस्पताल सञ्चालनका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिले उपकरणसहितका सामाग्रीहरु सहयोग गर्दै आइरहेका छन् ।