नदी कटानबाट म्याग्दीको सदरमुकाम बेनीबजारलाई जोगाउन सुरू गरिएको संरक्षण आयोजनाले तिब्रता पाएको छ । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित बजार दुई ठुला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम अन्र्तरगत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले चालु आर्थिक बर्ष २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालिगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी र रिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य सुरू गरेको हो ।ठेक्का सम्झौता भएको केही महिनामै काम सुरू भएको छ ।

मंगलाघाटस्थित म्याग्दी नदीको बाँया किनारा,म्याग्दी र कालिगण्डकीको दोभान तथा कालिपुलस्थित कालिगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडी नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताए ।‘तिब्र गतिमा काम भइरहेको छ ।नदीको धार समेत परिवर्तन गरिएकाले पनि सहज भएको छ’ जिसीले भने ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका जिसीले ३९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २ सय कामदार परिचालन गरिएको बताए ।‘स्थानीयबासीलाई पनि अनुगमनका लागि अनुरोध गरेको छु । स्थानीयको सहयोगले पनि निर्माणकार्यमा सजिलो भएको छ’ जिसीले भने । उनका अनुसार मेसिनरी पर्खाल ६ मिटर र आरसीसी ७.५ मिटर अग्लो हुने बताए । नदी आसपासमा पानीको बाहवले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूलाई समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ ।

ठेक्काको सम्झौता एकबर्षसम्म भएपनि जिसीले असारभित्र नै काम सम्पन्न गर्ने दावी गरेका छन् । जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालयका इन्जिनियर सहितको प्राविधिक टोलीले समेत दैनिक स्थलगत अनुगमन गर्ने गरेको जनाएको छ ।दुईवटा ठुलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बेनीबजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एकदशक यता सरकारी बजेट र चन्दा संकलन गरी ग्याविनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।ग्याविनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक बर्ष ०७१÷७२ देखी ०७३÷७४ सम्म आरसिसि पर्खालको निर्माण सुरु गरिएको थियो ।

पर्वत जिल्लाको पर्वतबेनी प्रवेश गर्ने मोटरेवल पुल देखी म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडी करिव ३९५ मिटर आरसिसी पर्खाल निर्माण सम्पन्न गरिएइको थियो । समान्तर बिएन जेभीले काम सुरु गरेपनि नदी कटानले अति जोखिमपूर्ण मानिएको म्याग्दी जेसीज देखी दोभान नजिकसम्मको ३ सय ८० मिटरको काम सुरु भएको छैन ।बेनीबजार संरक्षणमा भइरहेको कामको बेनपा–७ र ८ वडाका प्रतिनिधिका साथै बेनी नगरपालिकाले समेत नियमित अनुगमन गरिरहेको छ ।

आगामी तीनबर्ष भित्र बेनीबजार संरक्षणको आयोजना सम्पन्न गरी आवश्यक थप संरचना बनाएर चक्रपथको रुपमा प्रयोग गर्ने योजना समेत बनाइएको छ ।बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बजारभित्रबाट चल्ने ठुला तथा साना सवारीसाधनलाई तटबन्धलाई प्रयोग गर्ने बताए ।‘बेनीबजार संरक्षण संगै ट्राफिक समस्या पनि समाधान हुन्छ । गुणस्तरीय संरचनाका लागि समन्वय गरिरहेका छौ’ उनले भने । दुईबर्ष अगाडी कालिगण्डकी नदी थुनिएपछि बेनीबजारको संरक्षणका लागि जिल्लामा रहेका राजनीतिक दल, पूर्व सांसदले समेत निरन्तर बजेट विनियोजनमा दवाव दिइरहेका थिए ।

०७२ जेठ १० गते उत्तरी म्याग्दीमा करिव १६ घण्टा नदी थुनिएपछि बेनीबजार संरक्षणका लागि प्रयोग गरिएको तटबन्धमा समेत क्षती पुगेको थियो । विगतमा बजेट अभावमा बेनीबजारबासीले एक महिनासम्म नदी आसपासको क्षेत्रमा जनश्रमदान समेत गरेका थिए । गत आर्थिकबर्षमा देशभर रहेका सदरमुकाम मध्ये उच्च जोखिम सदरमुकाममा म्याग्दीको सदरमुकामलाई समेत राखिएपछि बजेट विनियोजनले प्राथमिकता पाएको थियो ।