नवनिर्वाचित सांसदलाई ट्रेड युनियन म्याग्दीको बधाई

0
224

गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्याग्दी जिल्लाबाट नवनिर्वाचित सांसदहरुले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र स्रोतसाधनको परिचालन गर्ने बताएका छन् । मङ्गलबार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीले बेनीमा आयोजना गरेको शुभकामना तथा बधाइज्ञापन कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

उनीहरुले अब गफ गर्नेभन्दा पनि काम गरेर देखाउने समय आएको हुँदा स्थानीयस्तरमा भएका स्रोतसाधनहरुको परिचालन गरी जिल्लालाई समृद्ध बनाउनतर्फ आफूहरु लागिपर्ने बताएका थिए । सांसदहरुले भ्रष्टाचारलाई नियन्त्रण गरेर आर्थिक पारदर्शिता र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशनम्बर ४ स्रोतसाधनका हिसाबले सम्भावनायुक्त क्षेत्र रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले सङ्घीय संरचना अनुसार कर्मचारी समायोजनका लागि आफूले पहल गर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिले भैरहेको सेवासुविधामा वृद्धि गर्नुपर्ने भन्दै राजनीति गर्नेले कमाउनेभन्दा पनि विशुद्ध राजनीति मात्रै गर्नुपर्नेमा जोड दिए । निर्वाचित सरकार र स्थायी सरकार ‘एउटा सिक्काको दुई पाटा’ भएको भन्दै थापाले नेपाललाई हाम्रै पालामा समृद्ध बनाउन सकिने धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य एवं पूर्वराज्यमन्त्री नरदेवी पुन र प्रदेश सांसद तथा युवा नेता विनोद केसीले देश समृद्धि र आर्थिक क्रान्तिको दिशामा अगाडि बढेको हुँदा स्रोतसाधनको परिचालन गरी रोजगार सिर्जना गर्न आफूले पहल गर्ने बताए । उनले निर्वाचित सरकार र स्थायी सरकारले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भन्दै आफ्नो तहबाट सुशासन कायम गर्न पहल गर्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष धनश्याम सापकोटाले चुनावअघि घोषणापत्रमा उल्लेख गरिएका वाचा र प्रतिबद्धताहरु पुरा हुनुपर्ने बताए । सङ्गठनका जिल्ला अध्यक्ष भोजबहादुर थापाले यसपटकको चुनावमा निजामति कर्मचारी, सेना र प्रहरी समानुपातिकमा भोट हाल्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको भन्दै आगामी दिनमा मतदानको अधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सिबिए म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले निर्वाचित सांसदहरुको राजनीतिक पृष्ठभूमीको बारेमा जानकारी गराएका थिए । जिल्ला अध्यक्ष सापकोटाको अध्यक्षता, उपाध्यक्ष डिल्लीराम रेग्मीको स्वागत र सचिव सुवास रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रमको अवसरमा निर्वाचित सांसदलाई प्रशंसापत्र प्रदान गर्नुका साथै कर्मचारीहरुले फुलमाला र अबिर लगाएर बधाई दिएका थिए ।