गएको मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका म्याग्दीका सातजना उम्मेदवारहरुको धरौटी जफत भएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका ७ जना उम्मेदवारले धरौटी जोगाउन पनि सकेनन् ।

धरौटी जफत हुने उम्मेदवारहरुमध्ये प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभामा दुईजना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार धरौटी जफत हुनेहरुमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार फौजबहादुर कार्की, नयाँ शक्ति पार्टी नेपालका नारायण शर्मा, एकीकृत राप्रपा (राष्ट्रवादी)का रामबहादुर शाही, मंगोलनेशनल अर्गनाइजेशनका रनबहादुर फगामी र राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापामगर रहेका छन् ।

यसैगरी प्रदेशसभा (ख)तर्फ राष्ट्रिय जनमोर्चाका उम्मेदवार रमेशकुमार पुन र राष्ट्रिय जनमुक्ति पार्टीका छमबहादुर रोकाको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उम्मेदवारले धरौटी जोगाउनका लागि कम्तिमा पनि सदर मतको १० प्रतिशत मत ल्याउनैपर्ने कानुनी प्रावधान रहेको छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार र प्रदेशसभा उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्ने व्यवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा उम्मेदवार बनेका एकीकृत राप्रपा (राष्ट्रवादी)का उम्मेदवार रामबहादुर शाहीले ३०६, नयाँ शक्ति पार्टी नेपालका नारायण शर्माले १४२, मंगोलनेशनल अर्गनाइजेशनका रनबहादुर फगामीले ११२, राष्ट्रिय जनमोर्चाका फौजबहादुर कार्कीले ९७ र राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापाले ३० मत पाएका थिए । त्यस्तै प्रदेशसभा (ख)मा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका रमेशकुमार पुनले ५७ र राष्ट्रिय जनमुक्ति पार्टीका छमबहादुर रोकामगरले ३५ मत मात्रै पाए। निर्वाचनमा भाग लिएका ठूला दलबाहेक अन्य सबै उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।

कुल ७५ हजार ५३८ मतदाता रहेको म्याग्दीमा गत मंसिरको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जम्मा ४७ हजार ४४९ मत खसेको थियो । उक्त निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा दुईहजार २८६, प्रदेशसभा (क)मा ७०८ र प्रदेशसभा (ख)मा ७७५ मत बदर भएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा ४ हजार ६८६, प्रदेशसभा (क)मा ३ हजार ८७४ र प्रदेशसभा (ख)मा २ हजार ९२१ मत बदर भएको हो । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा म्याग्दी जिल्लामा कुल ४ हजार १३१ मत बदर भएको जनाइएको छ ।