फोहोर व्यवस्थापनको दीर्घकालीन विकल्पको खोजीमा रहेको बेनीनगरपालिकाले कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापनको तयारी थालेको छ । हरिकुमार श्रेष्ठ नगरप्रमुख चुनिएपछि ल्याण्डफिल साइटको खोजीलाई उच्च प्राथामिकता राखेर काम गरिदै आएपनि तत्काल उपयुक्त स्थानमा आम सहमति नजुटेपछि नगरपालिकाले यस्तो विकल्प अघि सारेको हो।

बेनीबजार, मँगलाघाट र गलेश्वर क्षेत्रमा संकलन हुने सबै किसिमका फोहोर अहिले बेनी र गलेश्वरको बीच भागमा पर्ने जलेश्वरमा कालीगण्डकीको किनारमै थुर्पादै आएको छ । पवित्र गण्डकीको किनारमा व्यवस्थापन गरिने फोहोरलाई लिएर सर्वत्र विरोध हुदै आएको छ । नगरपालिकाले रत्नेचौरस्थित रानीवनमा उपयुक्त स्थान देखेपनि स्थानीयको असहयोगका कारण ल्याण्डफिल साइट निर्माण प्रक्रिया अघि नबढ्ने देखेपछि नगरपालिकाले जलेश्वरमै अस्याथी टहरा निर्माण गरेर कुहिने र नकुहिने फोहोरको बर्गीकरण गरेर व्यवस्थापन गर्ने प्रक्रिया सुरु भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

‘अस्थायी टहरा निर्माणका लागि प्राविधिकहरुको टोलीले आवश्यक लागत सहित योजना बनाइसकेका छन्, करिब १० लाख रुपैयाँमा यो संरचना तयार हुनेछ’, उनले भने, ‘फोहोर संकलन गर्दा नै हामीले कुन दिन कस्तो फोहोर उठाउने भन्ने निक्र्योल गर्नेछौँ ।’ २०६० सालमा म्याग्दी उद्योग वाणिज्य संघले अल्पकालका लागि भन्दै जलेश्वरमा फोहोर फाल्न सुरु गरेपनि २०६५ सालयता तत्कालीन अर्थुङ्गे गाविस र बेनीनगरपालिकाले सोही स्थानमा फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

बजारक्षेत्रमा बढ्दो जनघनत्वका कारण फोहोरको मात्रा पनि बढ्दो छ । पहिला एउटा टक्याटर मार्फत संकलन हुने फोहोर अहिले ट्याक्टर सहित कम्प्याक्टरले समेत संकलन गरिरहेको छ । नगरपालिकाले अस्थायी टहरासँगै ल्याण्डफिल साइटका लागि जग्गाको खोजीलाई तीब्रता दिएको छ । ‘कुनैपनि हालतमा ल्याण्डफिल साइट खोज्ने छौँ । फोहोरलाई मोहर बनाउन हामीले फोहोरको बर्गीकरण गरेर त्यसको पुनः प्रयोगको योजना बनाएका हौँ’, नगरप्रमुख श्रेष्ठले भने ।

बेनीबाट दैनिक औद्योगिक फोहोर ३ मेट्रिक टन, अस्पताल÷स्वास्थ्य निकायहरुबाट २ टन र घरेलु फोहोर ५ टन बढी निस्किने गर्छ । दैनिक निस्कने फोहरमध्ये रवर, छाला १ प्रतिशत, धातुजन्य २ प्रतिशत, कपडा २ प्रतिशत, सिसाजन्य ३ प्रतिशत, कागज ९ प्रतिशत, प्लास्टिकजन्य ११ प्रतिशत, अन्य ७ प्रतिशत र बाँकी ६५ प्रतिशत वस्तु जैविक फोहरमैला हुने अनुमान छ । ‘जैविक फोहोरसँगै पुनः प्रयोगलाई हामीले उच्च प्राथामिकता राखेर काम गर्नेछौँ । अब नगरबासीले पनि कुन दिन कस्तो फोहोर फाल्ने भन्ने बारेमा सचेत हुनुपर्नेछ’, नगरप्रमुख श्रेष्ठले थपे । नगरपालिकासँग ल्याण्डफिल व्यवस्थापनका लागि अहिले चालु आबमा ६५ लाख रुपैयाँ भन्दा बढी बजेट छ । त्यसैबाट अस्थायी टहरा, ल्याण्डफिलको खोजी र निर्माण गरिने नगरपालिकाले जनाएको छ । रिखार दैनिक