वेव सञ्जालको दुनियाँमा हुर्किरहेका नयाँ पुस्तालाई मात्र होइन ‘पाका तन्नेरी’ हरुलाई पनि आकर्षक र सेक्सी कायाले तान्छ नै। स्लिम र सिक्सप्याक बडिसहित फिटिङ वेयरमा उदात्त चालमा हिंड्दै दुनियाँकोे नयन तान्नुमा सायद बेग्लै आनन्द छ। भीडमा ध्यान तान्ने यस्ता तन्नेरीहरु ‘फेशन सिम्बोल’ बन्दै गइरहेका छन्। सिनेमा, फेशन शो र स्वास्थ्य म्यागेजिनहरुले पनि शरीर आकर्षक बनाउने फेशनलाई जनस्तरसम्म पुर्याउने काम गरिरहेका छन्। देशभरका मान्छे जम्मा हुने राजधानी काठमाडौं यस्तो फेशनबाट मुक्त हुने त प्रश्नै उठ्दैन।
फिट र सेक्सी काया बनाउन चाहिने मेहनत र धैर्यताको पछाडि एउटा अर्को महत्वपूर्ण कारणले पनि मान्छेलाई फिटनेस सेन्टरतिर तानिरहेको छ, त्यो हो स्वस्थ शरीरको चाह र बाध्यता। नियमित शारीरिक अभ्यास गर्नेहरु शारीरिक र मानसिक रुपमा स्वस्थ हुने अध्ययन रिपोर्टहरुले धेरै मानिसलाई फिटनेस सेन्टरको नजिक पुर्याउन थालेको हो।किर्तिपुरका ५६ वर्षीय अशोकमुनि बज्राचार्य पेशाले इन्जिनियर हुन्। उनी २०३७ सालदेखि निरन्तर फिटनेस सेन्टर धाइरहेका छन्। हेर्दा तन्दुरुस्त र स्मार्ट देखिने बज्राचार्य ‘व्यायामले शारीरिक स्फूर्तिका साथै आत्मबल पनि बढाउने’ हुनाले फिटनेस सेन्टर धाइरहेको बताउँछन्। ‘म स्वस्थ बन्न चाहन्छु भनेर भित्रैदेखि आउनुपर्यो, उमेरले रोक्न सक्दैन’, प्राइम फिटनेस किर्तिपुरमा व्यायाम गर्दैगर्दा भेटिएका बज्राचार्य भन्छन्, ‘शरीर स्वस्थ भयो भने मानसिक रुपमा पनि स्वस्थ भइन्छ।’
बलिउड नायिका प्रियंका चोपडाको सेक्सी फिगरबाट लोभिएकी २२ वर्षीया मानुषी चाहिं प्रियंकाकै जस्तो शरीर बनाउन फिटनेस सेन्टरमा गएर उफ्रन थालेको एक महिना भैसक्यो। फिल्म ‘मेरी कोम’ मा प्रियंकाको स्पोर्टी लुक्सले मानुषी यति मोहित भइन कि त्यसयता उनी लगातार फिटनेस सेन्टरमा गएर किक बक्सिङ सिकिरहेकी छिन्।आफ्नो फिटनेसप्रति सचेत आकर्षक जिउडालकी धनी अहिलेकी चर्चित मोडल तथा नायिका बेनिशा हमाल दैनिक फिटनेस सेन्टर गएर ‘फिगर मेन्टेन’ गरिरहेको बताउँछिन्। ‘म डाइटिङ गर्दिनँ, नियमित कसरत गर्छु’, बेनिशा भन्छिन्, ‘स्वस्थ खानपान र बढीसेबढी पानी पिउने गरे स्वस्थ र फिट भइन्छ।’
राजधानीमा मात्र २०० सेन्टर
शहिद धर्मभक्त माथेमालाइ आदर्श मानेर वि. सं २०१८ सालमा ज्याथा कान्तिपथमा खोलिएको नेपाल व्यायाम मन्दिरलाई नेपालमा फिटनेस शुरुवात गर्ने सेन्टरको रुपमा चिनिन्छ। मान्छेमा स्वास्थ्यप्रतिको चेतना बढ्दै गएपछि त्यहि अनुपातमा फिटनेस सेन्टरहरु पनि बढ्दै गएका छन्। अहिले काठमाडौमा फिटनेस सेन्टरको संख्या कति छ भनेर यकिन तथ्यांक नभएपनि नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार, राजधानीभित्र करिब २०० जति फिटनेस सेन्टर खुलिसकेका छन्। पहिला फिटनेसको अर्थ ‘बडिबिल्डिङ’ को रुपमा मात्र बुझिन्थ्यो तर अहिले त्यसको दायरा फराकिलो भएको छ। योगा, किक बक्सिङ, जुम्बा, साइकिलिङ, एरोबिक्स, स्वीमिङ, हर्स राइडिङ, कार्डियो भास्कुलर एक्सरसाइज सबैलाई फिटनेसभित्र समेटिएको छ।‘उच्च वर्गका मानिसका लागि मात्र फिटनेस सेन्टर हो’ भन्ने आम बुझाइ अहिले मध्यम वर्गीय मान्छेको पनि रोजाइ बन्न पुगेको रेज फिटनेस नक्सालका म्यानेजर तथा प्रशिक्षक अजय जोशी बताउँछन्। बदलिँदो जीवनशैली र आनीबानीले मानिसहरुलाई फिटनेसप्रति रुचि बढाएको हुन सक्ने बताउने जोशीले पुरुष मात्र होइन, कामकाजी महिला तथा गृहिणी पनि आफुलाई फिट राख्न फिटनेस सेन्टर धाउन थालेको बताए।राजधानीमा सस्तादेखि महँगा महँगा योगा र फिटनेस सेन्टरमा आफ्नो आर्थिक हैसियत अनुरुप कोहि चिच्याइरहेका हुन्छन्, कोहि ठूलठूला फलामका डम्बल उचालिरहेका त कोहि ट्रेड मिलमा कुदिरहेका भेटिन्छन्। पहिला दिनहुँ फिटनेस सेन्टर धाउने गरेका अहिलेका चर्चित नायक सौगात मल्ल र एक्सन हिरो निखिल उप्रेतीका बुझाई करिब मिल्दोजुल्दो भएपनि तिनको जिवनशैली चाहिं केहि फरक देखिन्छ। सेन्टर पुग्न नभ्याए दौडन नछुटाउने मल्ल जति खानपानमा उदार छन्, योगा र ध्यान गर्ने उप्रेती त्यति नै बढी अनुशासित। ‘म शाकाहारी भएकोले खानपानमा अत्यन्त सजग छु’, उप्रेती आफ्नो दैनिकी बताउँदै भन्छन्, ‘हरेक दिन ध्यान गर्छु र फिटनेस सेन्टरमा गएर वर्कआउट गर्छु।’१६ देखि ६५ वर्ष सम्मका ग्राहक
केएमसी कम्प्लेक्समा अवस्थित किर्तिपुरकै ठूलो फिटनेस सेन्टर प्राइम फिटनेसका सञ्चालक भुवन महर्जनकहाँ १६ देखि ६५ वर्ष उमेर समूहका मान्छेहरु आउने गरेका छन। ‘हिजोआज धेरै युवा युवती आफूलाई स्वस्थ र फिट राख्न फिटनेस सेन्टर धाउन थालेका छन्’, महर्जन भन्छन्, ‘मान्छेले स्वास्थ्यमा पैसा खर्च गर्न कन्जुस्याइँ गर्दैनन्, कोहि त बिहेको लागि शरीर मेन्टेन गर्न पनि म कहाँ आउँछन्।’ महर्जनको भनाइमा विदेश जान चाहनेहरु पनि ‘फिट’ देखिनका लागि फिटनेस सेन्टर धाइरहेका छन्।
महर्जनसँग कुरा गर्दागर्दै मेरा आँखा ‘स्प्रिङ पुलअप’ गरिरहेका भर्खरका तन्नेरीमाथि गयो। बोलाएर सोधें, उनी रहेछन् हिमालयन क्रिकेट एकेडेमिका १९ वर्षीय क्रिकेट खेलाडी चन्दन ठाकुर। उनी नजिकै २५ वर्षीय सनिस महर्जन पनि स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै एक्सरसाईज गरिरहेका थिए। क्रिकेटर ठाकुर भन्छन्, ‘खेलाडी फिट नभई हुँदैन, त्यसैले यहाँ दिनहुँ आउँछु।’महर्जन झैं १० वर्षदेखि सञ्चालित त्रिपुरेश्वर वल्र्ड ट्रेड सेन्टरस्थित ज्यासमिन फिटनेस सेन्टरका प्रशिक्षक विविधमुनि बज्राचार्यले पनि पहिलाको तुलनामा फिटनेस सम्बन्धी जानकारी राख्ने मान्छे बढेको बताए। स्विमिङ, जुम्बा, कार्डियो, साइकिलिङ, साउना तथा अरु थुप्रै सेवा दिंदै आएको यो सेन्टरमा सेलिब्रेटिदेखि विभिन्न पेशाका मान्छेहरु आउने गरेको उनी बताउँछन्।
गायक नरेन लिम्बु, नायक रमेश उप्रेती, नायक रेश मरहठ्ठा, भिजे सुप्रिया तुलाधर जस्ता सेलिब्रेटिहरु धाउने नक्साल र महालक्ष्मीस्थानमा रहेको रेज फिटनेश महँगो सेन्टरका रुपमा चिनिन्छ। अष्ट्रेलियाबाट अध्ययन गरेर फर्किएका सन्देश पालुङ्वाले खोलेको यो सेन्टरमा मुइयो थाइ किक बक्सिङ, फाइट सेप, जुम्बा, सेल्फ डिफेन्स क्लास चलाइन्छ। ‘शरीर फिट राख्न एक्सरसाइजले मात्र पुग्दैन’, नक्साल सेन्टरका म्यानेजर तथा प्रशिक्षक अजय जोशी भन्छन्, ‘७० प्रतिशत एक्सरसाइज र ३० प्रतिशत खानामा ध्यान पुर्याउनु पर्छ।’
स्वास्थ्यप्रति बढेको सचेतनाले मान्छेहरु दैनन्दिनको व्यस्तताका बाबजुद समय निकालेर फिटनेस सेन्टर पुगेर पसिना बगाउन थालेका छन्। तिनलाई फिटनेस सेन्टरका प्रशिक्षकहरु सातामा कम्तिमा पनि ३ दिन जति शारिरीक अभ्यास गर्न सके स्वास्थ्य अवस्था राम्रो हुने सुझाव दिन्छन्। ‘ब्यायाम विशेषज्ञहरुको सुझावमा गर्न जरुरी छ, नत्र नकारात्मक परिणाम पनि आउने डर हुन्छ’, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष प्रधान टिप्स दिंदै भन्छन्, ‘स्वस्थ शरीरले नै स्वस्थ समाज बन्ने हुनाले अहिले बढिरहेको चेतना सकारात्मक छ।’