रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माणधिन अवस्थामा रहेको नेपालकै लामो दावी गरिएको झोलुङ्गे पुलको निर्माणकार्य तिब्र गतिमा अगाडी बढेको छ । जिल्लामै पहिलोपटक निर्माणधिन अवस्थामा रहेको लामो र अग्लो झोलुङ्गे पुलको करिव १५ प्रतिशत काम बाँकी रहेको जिल्ला समन्वय समितिका असिस्टेन्ट सव–इन्जिनियर बालकृष्ण पौडेलले बेनीअनलाइनलाई बताए । उनका अनुसार निर्माणकार्यमा कुनैपनि ढिलासुस्ती भएको छैन् ।

स्थानीयबासीले समेत सहयोग गरेकाले बाँकी काम समेत समयमै सम्पन्न हुने पौडेलको भनाई छ । कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ । साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७,८ र ९ वडाका बासिन्दालाई पुलको निर्माण भएपछि सहज हुने छ ।

भौगोलिक विकटताका कारण बादुकबाट बेगखोलामा माध्यामिक तहको शिक्षा, स्वास्थ्य सेवा, वडास्तरका सेवासुविधा लिन समेत दैनिक दुई घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । पुलको निर्माण सम्पन्न भएपछि बेगखोला र बाँदुकको दुरी करिव २० मिनेटमा छोटिने स्थानीयबासीको भनाई छ । पुलको निर्माणसंगै रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, चिमखोला, दग्नामका साथै अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, नारच्याङ, हिस्तानका बासिन्दा समेत लाभान्वित हुनेछन् । पुलको निर्माण संगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित गर्ने स्थानीयबासीको योजना छ ।

बेनी जोमसोम सडकखण्ड हुदै मुस्ताङ जाने र विदाको समयमा समेत पुलमा पुग्ने आन्तरिक पर्यटकलाई आर्कषित गर्ने स्थानीयको भनाई छ । बेलायत सरकारबाट भिसी सम्मान पाएका स्वर्गीय तुल बहादुर तिलिजा पुनको गाउँ समेत भनेर विश्वभर प्रख्यात रहेको बेगमा स्थानीयबासीको लगानीमा १ करोडको लगानीमा भिसी मार्ग समेत निर्माणका साथै विभिन्न संरचना निर्माण गरिएको छ ।

बेगखोलाबासीले स्वर्गिय तिलिजाको सम्झनामा भिसी मार्ग सहितका विभिन्न संरचना निर्माणका साथै तिलिजा परिवारको सहयोगमा म्यूजियम समेत निर्माण गर्न लागेका छन् ।पुलको तीनबर्ष अगाडी तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले शिलन्यास गरेका थिए ।
तस्वीर सौजन्य बालकृष्ण पौडेल