नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले हालै सम्पन्न निर्वाचनको समीक्षा गरेको छ । मङ्गलबार एमाले पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न २२औं पूर्ण वैठकमा गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिएको हो ।

वैठकमार्फत शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने गराउने सम्बद्ध पक्ष, मतदान गर्ने मतदाताहरु र निर्वाचनमा खटिएका पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक, युवा, विद्यार्थी, सञ्चार क्षेत्र लगायतका सबै पक्षहरुलाई धन्यवाद ज्ञापन गरिएको एमाले म्याग्दीले जनाएको छ ।

वैठकमा जिल्ला कमिटी सदस्यहरुले आ–आफ्नो क्षेत्र र निर्वाचनका विषयमा रिपोर्टिङ गरेका थिए । धैरै खालका प्रतिकुलताका बाबजुद पनि विजय हासिल भएको तथा वाम गठबन्धनको नेतृत्वलाई नेपाली जनताले चुनावबाट अनुमोदन गरेको निष्कर्ष निकालिएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

यसैगरी वैठकले प्रदेशसभातर्फ पार्टीको उम्मेदवार नहुँदा पार्टीलाई मत कम आएको ठहर समेत गरेको उनले जानकारी दिएका छन् । त्यस्तै राष्ट्रियसभा सदस्यका लागि वैठकले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारीस गर्ने निर्णय पनि गरेको थियो । यसैबीच राष्ट्रिय सभामा म्याग्दी जिल्लाको पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै लबिङ गर्न र पार्टी केन्द्रमा दवाव दिनलाई एक टोली बुधबार काठमाडौं प्रस्थान गरेको छ ।

विज्ञापन