गएको मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन शिक्षा प्रभावहिन देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा मत बदर न्यूनिकरण गर्न घरदैलोमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरेपनि बालुवामा पानी हालेजस्तै भएको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट सामाजिक परिचालक र स्वंयमसेवकहरूले टोल–टोल, सार्वजनिक कार्यक्रम, भेलासंगै घरघरमा पुगेर समेत मतदातालाई निर्वाचन सम्बन्धि विभिन्न जानकारी दिन खटाइएपनि बदर मतमा घटेन ।विषेश तालिम सहित मतदाता कार्यकर्ताले प्रतिनिधिभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्रका बारेमा जानकारी,मत हाल्ने तरिका, मतपत्रलाई सुरक्षित तरिकाले पेटिकामा हाल्ने लगाएतका शिक्षा मतदाता समक्ष पुग्न नसकेपछि स्थानीय तहको निर्वाचनमा भन्दा धेरै मत बदर भएको छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुखका साथै वडा अध्यक्ष, खुल्ला, महिला र दलित सदस्यमा मत हाल्ने भन्दा कम झन्झट रहेको प्रतिनिधि र प्रदेशसभामा धेरै मत बदर हुनुलाई निर्वाचिन शिक्षाको पहुँच नपुगेको राजनीतिक दलको समेत आरोप छ । दलका कार्यकर्ताहरुले आफ्नो चुनावमा केन्द्रित भएर गरिएको प्रचारप्रसारले समेत मतदाताको बदर मतमा कुनै कमी आएन् ।

जिल्लामा १ सय ६ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको थियो । मतदाता कार्यकर्ताले समेत आफ्नो जिम्मेबारी अनुसार काम नगर्नु र ढिलोगरी छनौट र परिचालन हुन पनि बदर मत बढ्नुको मुख्य कारण रहेको निर्वाचन कार्यालयले जनाएको छ । कुल ७५ हजार ५३८ मतदाता रहेको म्याग्दीमा गत मंसिरको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जम्मा ४७ हजार ४४९ मत खसेको थियो ।

उक्त निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा दुईहजार २८६, प्रदेशसभा (क)मा ७०८ र प्रदेशसभा (ख)मा ७७५ मत बदर भएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा ४ हजार ६८६, प्रदेशसभा (क)मा ३ हजार ८७४ र प्रदेशसभा (ख)मा २ हजार ९२१ मत बदर भएको हो । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा म्याग्दी जिल्लामा कुल ४ हजार १३१ मत बदर भएको जनाइएको छ ।