जिल्लाको एक गाउँपालिकाले गर्भवती र सुत्केरी महिलालाई आपतकालिन कोषको स्थापना गरेको छ ।महिलाको सुरक्षाको रुपमा गाउँपालिका भित्र रहेका प्रत्येक वडामा एक–एक लाख रुपैयाँ बराबरको कोष स्थापना गरिएको हो ।गाउँपालिकाको केन्द्रमा बसेको गाउँ कार्यपालिकाको बैठकले समस्यामा परेका गर्भवती, सुत्केरी महिलाका साथै गरिव तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थपना गरिएको गाउँपालिका प्रमुख डम बहादुर पुनले बताए ।

‘भविस्यमा आवश्यकता अनुसार बजेट थप गर्नेछौ । वडास्तरमै विभिन्न स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ’उनले भने ।आर्थिक अवस्था कमजोर भएकाको उपचारमा पनि कोषको स्थापनाको तयारी भइरहेको उनले बताए ।गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्था देखी प्रसुतीसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको पुनले बताए ।

कोषको स्थापना गरेपछि हरेक वडामा रहेका स्वास्थ्य चौकी, सामाजिक परिचालकबाट समेत तथ्याङ्क संकलन गरिनेछ ।कोष संचालनका लागि कार्यविधि समेत बनाएर घर देखी स्वास्थ्य चौकी र अस्पतालसम्म पुग्ने विरामीलाई यातायात खर्च समेत उपलब्ध गराउने गाउँपालिकाका प्रवक्ता कृष्ण बहादुर बरुवालले बताए ।

‘यो पहिलो प्रयास हो,गाउँपालिकाबासीलाई सामाजिक सुरक्षाका लागि भविस्यमा पनि थप योजना बनाउनेछौ’ बरुवालले भने।जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित गाउँपालिकालाई आत्मनिर्भर बनाउने विभिन्न योजना, हरेक घरमा उज्यालो लगाएतका लोकप्रिय कार्यक्रमहरु समेत कार्यान्वयनको चरणमा रहेको ६ नम्बरका वडा अध्यक्ष समेत रहेका बरुवालको भनाई छ ।

उनले गाउँसभाका सदस्य सुत्केरी भए एकमुष्ठ १० हजार उपलब्ध गराइने छ ।यसैविच कार्यपालिकाको बैठकले हिस्तान–राम्चे सडकस्तरबृद्धिका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।जोखिमपूर्ण मानिएको उक्त सडकको स्तरउन्नतीले दुई वडाका बासिन्दालाई आवतजावतमा सहज हुने छ ।

त्यस्तै चित्रेदेखी पर्यटकीयस्थल घोरेपानी जोड्ने सडकलाई १० लाख, नारच्याङको बेशी गाउँदेखी लेकगाउँ जोड्ने सडकको ट्याक खोल्न २० लाख, म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवलाई दुई लाख रुपैया, गाँउपालिकाको संयोजनमा भुरुङ तातोपानीमा निशूल्क मुटुरोग शिवीर, सबै वडाका अपाङ्गता परिचयपत्र वितरण सहित स्वास्थ्य शिविर समेत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

यसैविच विश्वकै प्रख्यात घोरेपानी, पुनहिल, खोप्रामा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै अन्नपूर्ण हिमाल, निगलगिरि हिमालको आरोहणमा आउनेलाई समेत गाउँपालिका सम्भावनाका बारेमा प्रचारप्रसार गर्ने जनाइएको छ । जलविद्युत र पर्यटनमा जिल्लामै अब्बल मनिएको गाउँपालिकाले आन्तरिक स्रोत ब्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ ।