सुन्तला फलाएर आत्मनिर्भर बन्दै महिला

0

बेनी नगरपालिका–३ मरेककी एकल महिला जमुना थापाले यसबर्ष दुई लाखको सुन्तला उत्पादन गरिन् । अविवाहित थापाले सुन्तला अधिकांस समय सुन्तला बगैँचामै दिन विताउँछिन् । गाउँकै कर्ण कुमारी पुर्जाले बारीबाटै डेढ लाख बराबरको सुन्तला बजारमा लैजाने तयारीमा छिन् । करिव २२ घरधुरी रहेको मरेकमा थापा र पुर्जाले सबैभन्दा धेरै सुन्तलाबाट आम्दानी गर्ने महिलामा पर्छन् ।

गाउँमा पुरुषले भन्दा महिलाले सुन्तलाबाट कमाउने गरेका छन् ।पछिल्लो समय म्याग्दीमा ब्यवसायीक सुन्तला खेती महिलाको आम्दानीको बलियो आधार बनेको छ ।घरायसी, खेतीपातीमा मात्रै सिमित हुने महिला आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती र सुन्तलाको नर्सरी विस्तारमा लागेपछि केहीबर्ष यता सुन्तला बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

घरायसी काममा सिमित र परिवारका अन्य सदस्यमा निर्भर रहेका महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती विस्तार गरेपछि तीनबर्ष यता रहरलाग्दो आम्दानी गरिरहेका छन् । ‘यसबर्ष सुन्तला उत्पादन घट्यो, मेहनत खेर गएपनि यसको आम्दानीले खर्च चलेको छ’ जमुना थापाले भनिन् ।

उनले दैनिक सुन्तला बगैचाको रेखदेख गर्ने गरेपछि हावाहुरी, असिनापानी र विभिन्न किसिमका रोगले उत्पादनमा गिरावट आएको बताइन् ।‘मेरो खर्च खेतबारीमा भएको सुन्तलाले पुगेको छ, बेचेर आफन्तलाई पनि पैसा सापटी दिन सक्ने भएको छु’ थापाले भनिन् । उनले आफन्तलाई करिव ५० हजार बराबरको सुन्तला कोशेलीको रुपमा समेत दिने गरेकी छन् ।एकल महिलालाई समाजमा फरक दृष्टिकोण हेर्ने गरिएको अवस्थामा खेतबारीको सुन्तला लगाएत अन्य अन्नबाली बेचेर समेत सहज जीवन निर्वाह गरेको बताईन् ।

मरेक जस्तै बेनपा–२ भकिम्लीकै राखुमा समेत महिलाको अगुवाईमा सुन्तला खेती भइरहेको छ । मन कुमारी पुनको नेतृत्वमा रहेको ओखरबोट सुन्तला कृषक समुहमा आवद्ध महिलाले २० हजार देखी २ लाखसम्म सुन्तलाबाट आम्दानी गर्ने गरेका छन् । महिलाको आम्दानी घरायसी खर्च, बालबच्चाको शिक्षादिक्षा सहित अन्य काममा हुने गरेको छ ।

वडा सदस्य समेत रहेकी पुनले यसबर्ष गाउँमा रहेको सुन्तला कृषकलाई उचित मुल्यमा बोटमै खरिद समेत गरिन् ।‘महिला आत्ननिर्भर भए परिवार नै आत्मनिर्भर हुन्छ ।गाउँमा रहेका महिला दिदीबहिनीलाई सुन्तलाखेतीमा आर्कषित गरेको छु’ पुनले भनिन् । उनले विगतमा पोखरा, काठमाण्डौमा ब्यापारीले सुन्तलाबारीमै आएर नगद बुझाउने गरेको भएपनि यसपटक प्रतिकेजी ५० रुपैयाँमा गाउँलेसंग सहकार्य गरी बगैचा नै खरिद गरेको बताईन् ।

गाउँमा भिम कुमारी घर्ती, जसिकला रोका, लिला पुन र भुमी पुन धेरै सुन्तलाबाट धेरै कमाउनेमा पर्छन् । महिला आफ्नै प्रयासमा गरेका सुन्तला लगाएतका कृषिजन्य खेतीमा समेत पुरुषको सहयोग भनेर महिलाको सक्रियतालाई लुकाउने प्रयास भइरहेको उनले गुनासो गरिन् ।राखुमा यसबर्ष जिल्लामै सबैभन्दा राम्रो सुन्तला खेती भइरहेको छ ।पुरुषलाई महिलाले समेत बार्षिक धेरै सुन्तला उत्पादन गरी चुनौती दिइरहेका छन् ।सुन्तला बारीको रेखदेख, मलजल, पुराना बोटको उपचार,कृषि कार्यालयसंग परार्मश तथा तालिममा समेत महिलाको सहभागिता हुने गरेको छ ।

सुन्तला खेतीमा सक्रिय रहेका महिलाले धेरै आम्दानी गर्न थालेपछि गाउँमा रहेको कृषक समुहको नेतृत्वमा समेत पुरुषले दावी गर्न छाडेका छन् । शिक्षण र बैदेशिक रोजगारमा गएकाहरुको तुलनामै महिलाले गाउँमै आम्दानी गर्ने गरेको बेनपा–३ का वडा अध्यक्ष पदम पुनले बताए ।‘आर्थिक रुपमा आत्मनिर्भर महिलाबाट गाउँको विकासमा समेत योगदान छ । सडक सञ्जाल जोड्न समेत महिलाले आर्थिक संकलन गरेका छन्’ उनले भने । गाउँमा सुन्तला, बाख्रपालनमा अग्रसर रहेका कृषकलाई प्रोत्साहन गर्न वडास्तरबाट समेत सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । जिल्ला कृषि विकास कार्यालयले समेत महिला कृषकहरुको सक्रियतामा गरिएको सुन्तलाले राम्रो फल दिएको जनाएको छ । ‘सुन्तला टिपेपछि अर्को फल टिप्ने बेलासम्म महिलाले रेखदेख गरेको देखियो ।

तालिममा पनि महिलाको तुलनामा पुरुषको सक्रियता धेरै छ’ श्याम क्षेत्रीले भने । उनले तालिममा पुरुषको सक्रियता देखिएपनि गाउँमा महिलाहरुको अगुवाईमा भएको सुन्तला खेतीबाट उत्पादन बढेको बताए । कृषिजन्य बस्तुको उत्पादन सम्बन्धि तालिममा सहभागि हुन समेत आनाकानी गर्ने महिलाहरूले कुनै समस्या देखिए तत्कालै फोनबाट जानकारी गराउने र परार्मशका आधारमा उपचार विधीको प्रयोग गर्ने गरेका छन् । सुन्तलाको पकेट क्षेत्र मानिएका जिल्लाका विभिन्न गाउँमा महिलाहरूको सक्रियता बढेपछि उत्पादनमा बृद्धिका साथै नयाँ विरुवा समेत धमाधम विस्तार भइरहेको छ ।

स्थानीय तहको निर्वाचन पछि कृषकले अनुदान सहित प्राविधिक सहयोगमा कमी आएको बताएका छन् । कृषि कार्यालयमा कार्यक्रम नभएको र बेनी नगरपालिका भित्र कर्मचारी लगाएत कार्यक्रमको ब्यवस्थापनको अभावमा समस्या देखिएकाले पनि कृषक मारमा परेका छन् । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । सानो लगानीमा निरन्तर आम्दानी गर्न सकिने भएकाले पनि पछिल्लो समय अन्नबाली समेत छोडेर किसान सुन्तला खेतीमा आर्कषित हुने गरेका छन् ।