यातायात व्यवसायीद्वारा नवनिर्वाचित सांसद केसीलाई बधाई

0
243

म्याग्दीकाली यातायात व्यवसायी समिति म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा (क)बाट सदस्यमा निर्वाचित म्याग्दीकाली यातायात व्यवसायी समितिका अध्यक्ष समेत रहेका सांसद विनोद केसीलाई बधाई ज्ञापन गरिएको हो।

कार्यक्रममा यातायात व्यवसायी समितिका उपाध्यक्ष देव गर्बुजा पुन, सचिव देवेन्द्र पौडेल, कोषाध्यक्ष सुमन श्रेष्ठसहित कार्यसमितिका पदाधिकारी, सदस्य र यातायात व्यवसायीहरुले नवनिर्वाचित सांसद केसीलाई फुलमाला लगाएर कार्यकाल सफलताको शुभकामना र बधाई दिएका थिए ।

बधाई र शुभकामना ग्रहणपछि बोल्दै सांसद केसीले यातायातका क्षेत्रमा भएको बिकृति, समस्या र कानुनी जटिलताको समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले देश अब स्थिर सरकार र आर्थिक क्रान्तिको दिशामा अगाडि बढेको बताउँदै म्याग्दी जिल्ला पर्यटकीय हिसाबले सम्भावनायुक्त रहेकाले जिल्लाको विकास निर्माणमा केन्द्रीत हुने बताएका थिए ।

यातायात व्यवसायीहरुले यातायातका क्षेत्रमा भएका समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् । म्याग्दीकाली यातायात व्यवसायी समितिका उपाध्यक्ष देव गर्बुजा पुनको अध्यक्षता र सचिव देवेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका साधारण सदस्य आशिष बस्नेतले स्वागत गरेका थिए ।