गायनमा सानैदेखि रुची भएका गगन नेपाली ‘राम’ उमेरले २५ बर्षमा प्रवेश गरे ।म्याग्दीको मंगला गाउँपालिका–७ अर्मनमा जन्मिएका गगनले विद्यालयस्तरमा हुने विभिन्न प्रतियोगितामा हार्मोनियमसंगै सांगीतिक प्रतियोगितामा विद्यालयको नाममा उपाधी समेत जिते ।कलिलै उमेरमा गितसंगीतमा सक्रिय रहेका गगन अहिले काठमाण्डौमा दैनिक विभिन्न सांगितिका कार्यक्रममा ब्यस्त छन् । माध्यामिक तहको शिक्षा सकेलगत्तै काठमाण्डौमा हानिएका गगन गायन क्षेत्रमा सफलताको सिँढीतिर लम्बदैं गरेका गायक पनि हुन् ।

‘मैले जीवन विताएपनी, उसले धोका दिएको नभन्नु अरुले जे भनेपनी’ वियोगान्त गीतमा आफ्नो स्वर दिएर ब्यवसायीक रुपमै गायनमा प्रवेश गरेका गगनले लोकदोहोरी, सालैजो, मौलिका भाका लगाएतमा ३ दर्जनभन्दा बढी आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएका छन् । मौलिक, लोकदोहारी र यूवापुस्ताका गीतहरूलाई बजारमा ल्याउन रुचाउने गगनले म्याग्दीको सदरमुकाम बेनीबजार सहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने गीतहरु समेत बजारमा ल्याएका छन् ।

‘हेर्दा राम्रो बेनीको बजार, बेनीको बजार मन पर्ने हजार’ नाम सालैजो गीतबाट लोकप्रियता कमाएका गगनले केही दिन अगाडी म्याग्दीकै गायिका लाली बुढाथोकीसंग आफ्नै शब्द र स्वरमा ‘घुमाइदेउ स्वर, मनपर्छ भने लाम मायाँ के भोर’ भन्ने गीत बजारमा ल्याएका छन् ।‘गायन क्षेत्रमा सन्तुष्ट छु, अग्रजहरुसंग निरन्तर काम गर्ने अवसर पाएको छु’ उनले भने ।

चर्चित लोकगायक खड्ग गर्बुजाको प्रेरणाबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकोे उनको भनाई छ । ‘दैनिक दोहोरी साँझमा पनि मैले आफ्नो प्रस्तुती दिने गरेको छु । फेसनभन्दा पनि ब्यवसायीक रुपमा गायन क्षेत्रलाई अगाडी बढाउने सोचमा छु’ उनले भने । गायनसंगै जिल्लाको मौलिक कला र संस्कृतिको संरक्षण र प्रर्वधनका लागि स्थापना भएको म्याग्दी काठमाण्डौ कलाकार संघको सचिव समेत रहेका गगनले म्याग्देलीहरु बीचको एकता र सहकार्यका लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेका छन् ।

‘ब्यक्तिगत कमाईसंगै जिल्लालाई चिनाउने अभियानमा पनि छु । हामीले आफ्नो क्षेत्रका कलाकारहरुसंग सहकार्य गर्ने गरेका छौ’ उनले भने । उनले आफ्नो रुची गायनमा रहेकाले पनि अन्य क्षेत्रमा आएको जागिरको अफर समेत छोडेको बताए ।म्याग्दी लोकदोहोरी तारा सहित देशभरका विभिन्न कार्यक्रममा दोहोरी अवार्डबाट समेत सम्मानि भएका गगनले फेसन र नामका लागि मात्रै गायनको क्षेत्रमा आउनेहरुलाई विस्थापित गर्न ब्यवसायीक रुपमै गायनमा लागेका एकजुट हुनुपर्नेमा जोड दिए ।

‘गायन क्षेत्रमा सफलताको सिढीं उक्लन धेरै मेहनत गर्नुपर्छ । यो पेशामा भविस्य राम्रो पनि छ’ उनले भने ।पछिल्लो समय यूवाहरुको गायनमा देखिएको आर्कषणले उत्साहित भएको बताउँदै गगनले यसलाई दिगो बनाउन कला र गला हुनुपर्ने बताए ।धौलागिरि अञ्चलमा हुने मेला र महोत्सवमा सहभागि हुन आउने गगनले पछिल्लो समय देशभरका विभिन्न कार्यक्रममा समेत आफ्नो उपस्थिति देखाउने गरेका छन् । प्रवासमा रहेका म्याग्देलीहरुले समेत कार्यक्रमका लागि निम्तो दिन थालेपछि गगन उत्साहित छन् । उनले निकट भविस्यमा अर्को एल्बमको तयारीमा समेत जुटेका छन्।