म्याग्दीकी थममाया थापा मगर नेकपा एमालेको प्रतिनिधिसभाको समानूपातिक तर्फको सुचीमा परेकी छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समानूपातिकतर्फक पार्टीबाट सांसद बन्नेको नामवली निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको नेकपा एमालेको जनजाति महिलातर्फ पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव समेत रहेकी थापामगरलाई सांसद बनाउन लागेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–५ चिमखोला स्थायी घर भएकी थापामगर नेकपा एमालेकी प्रभावशाली महिला राजनीतिकर्मीमध्ये एक हुन् ।

गाउँबाटै कम्यूनिष्ट राजनीति सुरु गरेकी थममायाले पञ्चायतकालिमा भूमिगत राजनीति गरेकी थिईन् । शिक्षण पेशा छोडेर कम्यूनिष्ट राजनीतिमा सक्रिय भएकी थममायाले २०३६ सालमा निर्दल र बहुदलबीचको जनमत संग्रहमा बहुदलीय ब्यवस्थाको पक्षमा खुलेर प्रचारप्रसारमा लागेपछि उनलाई २०३८ सालमा जागिरबाट हटाउने तयारी भएपछि स्काउटको जिल्ला उपप्रमुख भएर सदरमुकाम बेनीमा आएकी थिईन् ।२०४० सालमा तत्कालिन मालेमा आवद्ध भएकी थममायाको राजनीतिक यात्राको क्रममा निकै कम महिलाहरू म्याग्दीको राजनीतिमा सक्रिय थिए । उनको राजनीतिक सक्रियता देखेर पुरुष नेताहरु समेत दंग पर्ने गरेका थिए ।

मगर समुदायको बाहुल्यता रहेको म्याग्दीमा थापामगर मगर संघमा समेत आवद्ध भईन् ।२०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचनमा हरिप्रसाद पुनको पक्षमा खुलेर लागेपछि उनको राजनीतिक यात्रा चम्कियो । पञ्चायत विरुद्धको आन्दोलन सुरु गरेपछि उनले प्रकाश माविको शिक्षक जागिर समेत छोडेर पूर्णकालिन कार्यकता भईन् ।विद्यार्थीबाट राजनीतिक सुरु गरेकी उनले कास्कीमा स्ववियू कोषाध्यक्ष, अनेरास्ववियू क्याम्पस कमिटिी अध्यक्ष तथा कास्की जिल्ला कमिटी सदस्य समेत भईन् । मेहनती, इमान्दार र विद्रोही स्वभावकी भएकाले पनि उनलाई तत्कालिन समयमा पार्टीले महत्वपूर्ण जिम्मेबारी दिएको थियो ।

२०४६ सालको जनआन्दोलन पछि म्याग्दी फर्किएकी थापामगरले २०४८ सालको आम निर्वाचनमा पार्टीको तर्फबाट क्षेत्र नम्बर १ को बाट निर्वाचिन जितिन् । निर्वाचित जनप्रतिनिधिसंगै उनको केन्द्रिय राजनीतिमा प्रवेश गरेकी थापामगरलाई जिल्लामा कम आउने नेताको रुपमा आलोचना गर्ने गरिन्छ । ‘उहाँको समानुपातिकबाट सांसद बन्ने निश्चित छ । मन्त्रीका लागि योग्य हुनुहुन्छ’ यूवा संघका नेता सन्तोष रावलले भने । उनले मन्त्रीको चर्चा संगै शक्तीशाली मन्त्रालयको सम्भावना रहेको बताउँदै म्याग्दी सहित धौलागिरि अञ्चलबाट मन्त्री बन्ने सुचीमा थापामगरको चर्चा पार्टीभित्र धेरै रहेको बताए ।

२०५६ सालमा राष्ट्रियसभा सदस्य, २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट समानुपातिकतर्फ सांसद भएकी थापामगर म्याग्दीबाट केन्द्रिय राजनीतिमा पुगेपनि जिल्लामा चुनाव र सार्वजनिक कार्यक्रम बाहेकमा हुदैन भन्ने आरोप पार्टीभित्र र बाहिरबाट समेत लाग्ने गरेको छ । नेकपा एमालेमा पार्टी अध्यक्ष केपी ओली निकट मानिने थापामगरलाई अव बन्ने सरकारको मन्त्रीको रुपमा समेत हेरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लामा चुनावी अभियानमा सहभागि भएर फर्किएकी थापामगरको समानुपातिक सुचीमा जनजातिको तर्फबाट १ नम्बरमा पाटीको बन्दसूचीमा नाम सिफारिस गरिएको थियो । पटकपटक सांसद भएकी थापामगरलाई मन्त्री बनाउन समेत लविङ भइरहेको छ । यसैबिच जिल्लाबाट नेपाली कांग्रेसले समेत प्रतिनिधिसभा, प्रदेशसभामा समेत प्रतिनिधित्व गराउन केन्द्रिय नेताहरुमा लविङ सुरु गरेका छन् ।