कोदो फल्ने बारीमा पहेँलपुर सुन्तला

0

धान नफल्ने कोदो बारीमा रोपेका सुन्तलाका बोटमा सुन जस्ता सुन्तला फल्न थालेपछि म्याग्दीका कृषक उत्साही छन् । पहेँलपुर भै पाकेका लटरम्म सुन्तला घाममा टल्कदा बगानभित्रका परम्परागत ढुंगेघरका भित्ता पनि सुन्तला रंगले रंगाए झैं आर्कषक देखिएका छन् । आँगनबाट सजिलै टिप्नसुन्तला बेचेर दैलोमै खनखनी रुपैयाँ बुझ्दा म्याग्दीका कृषकको मन फुरुङ बनेको छ ।

म्याग्दीबाट ७ करोड ५० लाख मुल्य बराबरको सुन्तला पोखरा, नारायणगढ, बुटवल र काठमाडौंका बजारमा निर्यात हुने गरेको छ। आन्तरिक बजारमा मात्रै छुट्टै ५० लाखको सुन्तला खपत हुन्छ। सुन्तलाको सिजन भएकोले अहिले बगानमा कृषकलाई सन्तला टिप्न भ्याइ–नभ्याइ छ।
खरिदकर्ताले सुन्तलालाई ए, बी र सी ग्रेडमा बाँडेर खरिद गरेका छन्। बेनी नगरपालिका, ३ र ४ भकिम्लीको राखु, बास्कुना, मरेक क्षेत्रका सुन्तला काठमाडौंको कालीमाटी फलफुल बजारले आकारको आधारमा ए ग्रेडलाई ८०, बीलाई ५५ र सी ग्रेडलाई ३५ रुपैयाँमा अग्रिम खरिद गरेको हो।
बरंजा, विम, पात्लेखेत क्षेत्रका सुन्तला नारायणगढ, पोखरा, बुटवलका व्यापारीले लैजाने गरेका छन्। उत्तरी भेग घार, दाना क्षेत्रका सुन्तलाले भने पर्यटक पर्खेर बसेका छन्।
ग्रामिण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले शुरु गरेको व्यवसायीक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ। भनिन्छ, सडक पुग्न गाह्रो, पुगेपछि अन्य विकासका पूर्वाधार पछ्याउँदै आउँछन्। यहाँका ग्रामिण वस्तीमा सडकले स–सानो कृषी क्रान्ति गरिरहेको छ।
‘कोदोको परम्परागत खेतीको सट्टा कृषकले सुन्तलाको बोटमा सुनका दाना फलाउन थालेका छन्। दैलोमै पैसा फलेको देखेपछि हौसिएका कृषकले सुन्तला बगैंचा नै बनाएका छन्,’ कृषी विकास कार्यालयका वागवानीका अधिकृत भोजबहादुर थापाले भने, ‘सुन्तलाको खेती वर्षेनी बढेको छ।’
आकाशे पानीमा निर्भर यहाँको सुन्तला खेतीमा सिँचाई नपुग्दा सुन्तला बारीको माटोमा पानी बहन क्षमता घटेको ‘वाटर होल्डिङ्ग क्यापासिटी’ नपुग्दा सुन्तलामा पुरा रस नपस्ने भएको छ। त्यति मात्र होईन यहाँको सुन्तला खेतीमा सिक्टस ग्रिनिङ रोग पनि फैलदै गएको छ। ९ सय मिटरभन्दा तल्लो हावापानी भएको क्षेत्रमा अमिला जातका फलफुलमा देखिएको यो रोग अहिले माथी उक्लेर १२ सय मिटरमाथीका बोटमा पनि देखिएको छ। सुन्तलाको वोटमा पाललो फल लाग्ने, फलको आकार सानो हुने र पात पँहेलोहुँदै वोट सुक्ने रोगलाई ग्रिनिङ रोग भनिन्छ।
‘तल्लो क्षेत्रमा उत्पादन भएका रोगी विरुवा माथिल्लो क्षेत्रमा रोपण गरिएकोले ग्रिनिङ्ग रोग माथी सरेको हो’ वागवानी अधिकृत थापाले थपे, ‘सुन्तलाका वेर्ना उत्पादन गर्ने नर्सरीहरु रोगबाट ग्रस्त छन। अव नर्सरी १३ सय मिटर माथी सार्नु पर्छ। नत्र अहिले जस्तो खेतीको क्षेत्रफल बढ्ने उत्पादकत्व नबढ्ने भैरहन्छ।’
सुन्तला खेतीको अनुकुल वातावरण भएकोले कृषी विकास कार्यालयले दाना, घारपोखरे, दोसल्ले, पिप्ले, महभिर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरंजा, फुलवारी, बिम, ताम्ला, दोवा, भगवती, देविस्थान, ओखरबोटलाई सुन्तलाको पकेट क्षेत्र र बरंजा, दोसल्ले र बास्कुनालाई ‘सुन्तलाबगैचा’ घोषणा गरेको छ। बरंजाको भोर्लेनी, भकिम्लीको राखु, सिङ्गाको बाँसकुना, ताकमको खारा, ओखरबोटको फुलबारी क्षेत्रबाट पोखरा, नारायणगढ र काठमाण्डौका ब्यापारीले बारीबाटै सुन्तला उठाउने गरेका छन्।
‘यहाँका कृषकलाई न्यूनतम २० हजारदेखी एक लाखसम्म पेश्की बुझाएको छु। स्थानिय बजारमा डोकेर ब्यापारले काम नचल्ने देखेपछि सुन्तला खेतीको भविश्य सुनिश्चित गर्न काठमाण्डौ छिरेका हौं,’ बेनी नगरपालिका, ३ भकिम्लीराखीकी अगुवा कृषक मनकुमारी पुनले भनिन्, ‘हाम्रा सुन्तला आर्गनिक तथा स्वादिलो भएकोले विदेश तार्गेटगरी उत्पादन गरिरहेका छौं।’
म्याग्दीमा तीन सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। तथ्याड्ढ अनुसार यो बर्ष ३३ हजार व्यवसायीक बोटबाट तीन हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ। थप २० हजार सुन्तलाका बोट उत्पादन तयारीमा छन। १६ हजार विरुवा नर्सरीमा छन्।
मुलुकमा उत्पादन हुने फलफूल मध्ये एक तिहाई बजार सुन्तला तथा जुनारको रहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सुन्तला फ्रेसभन्दा बढी जुसको रुपमा चीन तथा भारतमा विक्रिहुने हुँदा ब्यापारी झोलामा पैसा बोकेर कृषकको बारीमै पुग्ने गरेका छन। भारत र चीन नेपाली सुन्तला जुसका मुख्य बजार हुन्। copyright: Kantipurdaily/घनश्याम खड्का र म्याग्दी