म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले ६५औं वार्षिकोत्सव तथा निलमणि जयन्ति मनाउन सुरु गरेको छ । विद्यालय स्थापनाको ६५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रबारदेखि वार्षिकोत्सव मनाउन लागेको हो ।

‘अन्तर्दृष्टि प्रस्फूटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयले शुक्रबार प्रभातफेरी कार्यक्रममार्फत सदरमुकाम बेनीबजारको परिक्रमा गरेको छ । ¥यालीसहितको बजार परिक्रमा कार्यक्रममा विद्यालयमा क्रियाशिल राष्ट्रिय सेवा दल एनसिसी, स्काउट, युवा रेडक्रस सर्कल, सङ्काय अनुसार अध्ययनरत विद्यार्थीहरुको छुट्टाछुट्टै व्यानर प्रस्तुत, शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले अभिभावकहरुबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता, लठो तान्ने र टोपी लुकाउने खेल लगायतका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । यसैगरी विभिन्न तह र सङ्कायमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिने भएको छ । प्रकाश मावि जिल्लाकै पुरानो विद्यालय मानिन्छ ।

विज्ञापन