तिप्ल्याङमा आगोलागीबाट दुई घर जलेर नष्ट

0

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलास्थित तिप्ल्याङमा आगोलागीबाट दुईवटा घर जलेर नष्ट भएको छ । शानिबार दिउँसो ३ बजे आगोलागी हुँदा स्थानीय बेगबहादुर पूर्जा र राजकुमारी तिलिजाको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पूर्जाको फर्निचरमा एक्कासी विद्युत सर्ट हुँदा आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उनको फर्निचर तथा घर जल्दा ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पहरी निरीक्षक दिपक महतले जानकारी दिनुभयो । पूर्जाको घर, फर्निचर, १५० ओटा कुखुरा, लत्ताकपडा, नगद एकलाख र तीन तोला सुन जलेर नष्ट भएको उहाँले बताउनुभएको छ।

यसैगरी आगोलागीले पूर्जासँगै जोडिएको तिलिजाको घर जल्दा नगद १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक महतले बताउनुभयो । तिलिजाको आगोलागीले ५० ओटा कुखुरा मरेका छन्भने कुखुरा, घर, लत्ताकपडा र भाँडावर्तनसहित १७ लाख बराबरको क्षति भएको छ ।

अहिले आगो पूर्णरुपमा नियन्त्रण आएको प्रहरीले जानकारी दिएको छ । आगोलागी भएपछि स्थानीयवासी, मजदुर र प्रहरीले आगो निभाएका थिए । आगोलागी भएको खबरलगत्तै जिल्लाबाट दमकलसहितको प्रहरी र भूरुङ–तातोपानीस्थित सीमा प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।