आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न,जागिर पनि खान्न’भन्ने अडानका साथ १ हजारको लगानीबाट कृषि पेसा सुरु गरेका कार्की अहिल १ करोड भन्दाबढी सम्पत्तिको मालिक बन्न सफल हुनुभएको छ ।संगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक,वरिष्ठ कृषि विकास अधिकृत लगाएत निजामति सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन् ।

२०३४ सालमा १८ वर्षको उमेरदेखि १ हजार रुपैयाँको लगानीबाट कृषि पेसा सुरु गरेका कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेसावाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिको रुपमा चिनिनुहुन्छ ।आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषक समेत हुनुहुन्छ । कार्कीको खेतवारीमा वाह्रैमास आलु,बन्दा,काउली,गोलभेडा,साग,ब्रोकाउली,धनियाँ,लसुन,प्याज, खुर्सानी लगाएतका तरकारी र केरा,सुन्तला,कागती,अम्बा लगाएतका फलफूलहरु लहलह झुलीरहेका र लटरम्म फलिरहेका देखिन्छन् ।

गोठमा भौसी,बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ’ कार्कीले विगत कोट्याउँदै भन्नुभयो‘ त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अडिड् लिएर कृषि पेशा सुरु गरें,अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’

१ हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायिक तरकारी खेतीले कार्कीलाई अहिले १ करोड भन्दा बढीको मालिक बनाएको छ । तरकारी विक्रिबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महङ्गो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर समेत बनाइसक्नु भएको छ । त्यसै गरी पर्वत बेनीमा समेत घडेरी किन्नुभएको छ । कृषिबाट मात्र वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने बताउने कार्कीले दैनिक ३ लिटर दूध समेत विक्रि गर्नुहुन्छ ।

त्यसैगरी गाउँमा र बेनीको मंगलाघाटमा गरी दुईवटा पसल समेत संचालन गर्नुभएको छ । बेनीको मंगलाघाटमा रहेको उहाँको पसलमा आग्र्यानिक कृषि उपज,फलफूल र तरकारीका विरुवा (बेर्ना) बर,पिपल,समी,तुलसी लगाएत धार्मिक वृक्षका विरुवासमेत पाइन्छन् । त्यसैगरी कृषि पेशाबाट भएको आम्दानीले कार्कीले गाउँमा जग्गा समेत जोड्नुभएको छ । ‘१ लाखबाट सुरु गरेको कृषि पेसाले अहिले करोडाको सम्पत्तिको मालिक बनायो’ कार्कीले भन्नुभयो ।

‘माटोसंग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’ कार्कीले भन्नुभयो—‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याईपु¥यायो । यिनै पसिना विदेशी भूमीमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थें,न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो ।’ कार्कीको भनाइ थियो । खबराको पिपल डाडाँको तल्लोपट्टी पर्यटकीय स्थल लभलिहिलको नजिकै रहेको उहाँको घर र खेतवारी कृषिको प्रयोगशाला जस्तो देखिने स्थानीय भरत कार्कीले बताउनुभयो ।

सधैभरी तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी,तरकारी खेती र केरावारी हेर्नका लागि लभलिहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत उहाँको घरमा नै जाने गरेका छन् ।कार्कीको प्रगतिदेखेर त्यहाँ पुग्ने धेरै मानिसहरुले आश्चर्य प्रकट गर्दछन् । गर्न सक्ने हो भने आफ्नै माटोमा पैसा फलाउन सकिदो रहेछ भन्ने कुराको प्रमाण वनेका कार्कीलाई उनका छोरा र श्रीमती लक्ष्मी कार्कीले सघाउनुहुन्छ ।

विज्ञापन