बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापनमा कम खर्चिलो प्रविधि

0
275

जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा आइतबार प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन तसर्थ बेलैमा सचेत र सुरक्षित होऔं’ भन्ने मूल नारासहित तालिम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म चलेको तालिममा प्राकृतिक प्रकोप के हो, जिल्ला भू–संरक्षण कार्यालयको परिचय, सरकारी कार्यालयले प्रकोप व्यवस्थापनमा खेल्ने भूमिका, विद्यमान ऐननियम, प्राकृतिक प्रकोपपछि फैलन सक्ने महामारी, आगोलागी, डढेलो, प्रकोपको व्यवस्थापन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, सहायक जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटा, प्रहरी निरीक्षक दिपक महत र जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

यसैबीच आजै तालिमको समापनको अवसरमा बेनीको क्याम्पसचोक भन्दामाथीको खोल्सीमा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोगात्मक अभ्यास गरिएको छ । बेनी–पाखापानी जोड्ने सडकको अर्थुङ्गेस्थित आँपरुख सामुदायिक वन क्षेत्रमा पर्ने खोल्सीमा बाँसको छेकबाँध लगाइएको छ भने बोरामा माटो भरेर पहिरो खस्ने ठाउँमा बाँध बाँधिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

यसैगरी उक्त ठाउँमा रुख बिरुवाको हाङ्गा काटेर रोपिएको छ भने टेलिसेट, ब्रसलेयरिङ गरी स्थानीयस्तरमा उपलब्ध सामाग्रीको प्रयोगमा पहिरो नियन्त्रण, प्रकोप न्युनीकरण गर्ने र भू–क्षय रोकथाममा टेवा पु¥याउन कम खर्चिलो प्रविधि अपनाइएको भू–संरक्षण अधिकृत पौडेलको भनाई छ ।

तालिममा पहिरो प्रभावित क्षेत्र दोवा, पाखापानी, भकिम्ली र पात्लेखेतका गरी २० जनाको सहभागिता रहेको थियो । आँपारुख क्षेत्रबाट हरेक वर्षको वर्षायाममा बेनीको क्याम्पसचोक र मङ्गलाघाट क्षेत्रमा बाढीपहिरो खसेर स्थानीयलाई दुःख दिने गरेको छ ।