यसरी मनाइयो प्रकाश माविको ६५औं वार्षिकोत्सव तथा नीलमणि जयन्ती

0
384

‘अन्तर्दृष्टि प्रस्फूटनका लागि शिक्षा’ भन्ने मूल नारासहित बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले आइतबार ६५औं वार्षिकोत्सव तथा नीलमणि जयन्ती मनाएको छ । २००९ साल पुस ९ गते अर्थात् आजैको मितिमा स्थापना भएको विद्यालयको ६५ वर्ष पुगेको अवसर पारेर वार्षिकोत्सव तथा नीलमणि जयन्ती मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले देश नयाँ संविधान अनुसार सङ्घीयतामा गएको हुँदा अब व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले प्राविधिक क्षेत्रका विषयलाई समेटर अघि बढ्नुपर्ने भन्दै दक्ष जनशक्ति उत्पादनमा ध्यानकेन्द्रीत गर्नुपर्ने बताएका छन् ।

पूर्वराज्यमन्त्री तथा प्रदेश सांसद नरदेवी पुनले शिक्षाका कार्यक्रमहरुमा सम्बन्धित क्षेत्रका विषय विज्ञहरुलाई अतिथि बनाउनुपर्ने बताउँदै समाजमा पिछडिएका वर्गलाई समेटेको विद्यालयको शैक्षिक विकासमा आफूले सक्दो पहल गर्ने बताएकी थिइन् । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका प्रदेश सांसद विनोद केसीले शिक्षामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नो तर्फदेखि उचित पहल गर्ने बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले प्रकाशन गरेको नवप्रकाश स्मारिकाको चौथो अङ्क विमोचन गरिएको थियो । यसैगरी त्रिदिवसीय कार्यक्रम अन्तर्गत विद्यालयमा आयोजित अभिभावकहरुको पुरुष–महिला भलिबल प्रतियोगिता, लठो तान्ने र टोपी जोगाउने खेलमा उत्कृष्ट भएकालाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयले शिक्षकतर्फ माविका टेकप्रसाद सुवेदी र आधारभूत तहका कल्याण सुवेदीलाई सम्मान गरेको छ भने नवप्रकाशको कम्प्युटर लेआउट गर्ने डिजाइनर प्रमोद शर्मालाई पनि सम्मान गरेको थियो । त्यसैगरी नवप्रकाश प्रकाशनको सम्पादक विनय श्रेष्ठलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा विद्यालयमा रहेको राष्ट्रिय सेवा दल एनसिसीले आफ्नो प्रस्तुती देखाएको थियो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, नेपाली कांग्रेसका सचिव क्या. मिनबहादुर कार्की, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, जग्गादाताको तर्फदेखि नैनकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र शिक्षक अभिभावक संघका अध्यक्ष रहमद् खानले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता, सहायक प्रअ लेखबहादुर हमालको स्वागत, शिक्षक विनय श्रेष्ठको सञ्चालन र गणनाथ आचार्यले कवितावाचन गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।