दुईतीनबर्ष अगाडीसम्म सुनसान जस्तै देखिने म्याग्दीको बेनी नगरपालिका–२ खबरास्थित रहेको खवराको डिलमा दैनिक यूवायूवतीको जमघट हुन थालेपछि लभ्लीहिल नामाकरण गरियो । सदरमुकाम बेनीको शीरमा अवस्थित डाँडामा दैनिक यूवायूवतीको डेटिङस्पटको रुपमा चर्चामा आएसंगै लभ्लीहिलको चर्चा हुन थालेपछि अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।

सदरमुकाम बेनीबाट करिव २५ मिनेटको पैदल र सवारीसाधनमा १० मिनेटमै पुगिन सकिने लभ्लीहिलमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि पूर्वाधार निर्माण समेत गरिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा लभ्लीहिलमा भौतिक पूर्वाधारको विस्तार गरिएको हो । झण्डै १२ लाख बढीको लगानीमा लभ्लीहिलमा पूर्वाधार विकास गरिएको छ ।

पर्यटन कार्यालयको पाँचलाख र स्थानीयको एकलाख ५० हजारसहित कुल ६ लाख ५० हजारको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरु निर्माण गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले कृष्ण बहादुर कार्कीले बताए ।

‘दैनिक घुम्न आउनेको संख्या बढ्न थालेको छ । थप पूर्वाधार विस्तारका लागि सहयोग मागेका छौ’ उनले भने । उनका अनुसार पहिलोचरणमा प्राप्त बजेटबाट ४२ मिटर दुई लाइनको रेलिङ, एकवटा गोलघर (भ्यु–प्वाईन्ट) र पाँचवटा ६ फुटको आरामदायी बेन्च डिपीसी गरी निर्माण गरिएको थियो ।बेनी नगरपालिकाको साढे चारलाख र स्थानीयको एकलाख भन्दाबढी श्रमदानमा थप १४६ मिटर तीन लाइनको रेलिङ बनाइएपछि डाँडाबाट दृष्यअवलोकनमा सहज भएको उनले बताए ।

लभ्लीहिलमा लायन्स क्लव बेनी पिससिटी र प्रदीप सापकोटाको सौजन्यमा फोहोर सङ्कलनका लागि ड्रम समेत राखिएको छ । लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्दै बन्दै जान थालेपछि शौचालय, सार्वजनिक खानेपानी लगाएतका पूर्वाधारको समेत माग भइरहेको पूर्वाधार समितिका अध्यक्ष धुर्वराज कार्कीले बताए ।

उनले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको बताउँदै सरकारी निकायबाट प्राथमिकतामा परेमा नगरपालिका भित्रको उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन सकिने बताए । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।सदरमुकाम बेनी आसपासमा व्यस्त दैनिकीबाट विश्राम लिन, मुस्ताङ आवतजावत गर्ने स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकासमा ध्यान दिनुपर्ने पर्यटन ब्यवसाय्रीको भनाई छ ।

बेनीबजार आसपासका क्षेत्रमा रहेका पर्यटकीयस्थलमा एकदिनसम्म घुम्न मिल्ने वातावरण बनाए आर्थिक कारोबार समेत बढ्ने पर्यटन ब्यवसायीले बताए । यसैबिच बेनी नगरपालिकाले समेत नगर क्षेत्र भित्रका पर्यटकीय क्षेत्रको विस्तार र प्रचारप्रसारमा प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले नगरपालिका भित्रका हरेक वडाका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको बताउँदै आफ्नो कार्यकालमा प्रचारप्रसार र पूर्वाधार विस्तारमा सहयोग गर्ने बताए ।