म्याग्दीमा कृषि : कँही फलिफाप, कँही उहीहाल

0
313

देशमा भएको राजनीतिक परिवर्तन र शान्ति स्थापनासंगै म्याग्दीका ग्रामिण भेगहरुमा स्वतस्फुर्तरुपमा देखिएको कृषि क्रान्तिले सकारात्मक लक्षणहरु देखाउन सुरु गरेको छ ।गाउँलेहरु व्यवसायिक कृषि,पशुपालन र घरेलुतथा साना उद्योगबाट आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेपछि पहाडी जिल्ला म्याग्दीमा आर्थिक सम्वृद्धिका संकेतहरु देखिन थालेका सरोकारवालाहरुले वताएका छन् ।

म्याग्दीका ग्रामिण भेगका वासिन्दाहरु व्यवसायिकरुपमा तरकारी खेती, पशुपालन र आयआर्जन हुने कामहरुमा लागेर ‘गाउँमा वसेर केही गर्न सकिदैन’ भनि विदेश पलाएन हुनेहरुको भन्दा वढि आम्दानी गर्न थालेका जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको बेनी नगरपालिका सहित मंगला,मालिका,धौलागिरि,अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा कृषि र पशुपालनमार्फत गाउँलेहरुमा आएको सकारात्मक परिवर्तनलाई ‘स्वतस्फुर्तरुपमा भएको कृषि क्रान्ति’ को संज्ञा दिँदा फरक नपर्ने अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकावहादुर कार्कीले वताउनुभएको छ ।

केहीवर्ष अघिसम्म पराम्परागत कृषिलाई ‘निर्वाहामुखी खेतीपाती’ भनिने गरेकोमा अहिले आधुनिक प्रविधि, वीउविजन र व्यवसायीक उद्धेश्यका साथ खेती गर्न थालिएपछि दोव्वर उत्पादन र पाँचगुणावढि आम्दानी गर्न किसानहरु सफलभएका कार्कीले वताउनु भयो । प्रविधी र वजारीकरणमा पहुँच भएका तथा कृषिको व्यवाहारिक ज्ञान पाएका कृषकहरुले उल्ल्ोख्य सफलता पाएको भएतापनि म्याग्दीका विकट गाउँका कृषकहरु भने परम्परागत कृषि प्रणालीमै अल्झिएको पाइएको छ ।

जिल्लाका लुलाङ, मुदी, मुना, बिम, गुर्जा, लगायतका गाउँमा अहिलेसम्म पनि व्यवसायिक खेतीको शुरुआत हुनुसकेको छैन । यातायातका साधनको अभाव, स्थानीयमा प्राविधिक चेतनाका साथै व्यवसायिक खेतीप्रतिको अनभिज्ञता, दुर्गम भौगोलिक धरातल लगायतका कारण ति क्षेत्रमा अहिलेसम्म पनि निर्वाहमुखी खेतिकै भर पर्नुपरेको स्थानीयबासीहरुको गुनासो छ ।

भौगोलिक दुर्गमताकै कारण आलु, स्याउ लगायतका नगदे तरकारी तथा फलफुलको प्रचुर सम्भावना रहेको भएपनि व्यवसायिक खेतीको आकार दिन नसकिएको गुर्जाका किसान रिद्धबहादुर छन्त्याल बताउनुहुन्छ । यातायातका साधन पुगेका शिख घार जस्ता केहि गाउँहरुमा पनि प्राविधिक तथा आधुनिक खेतीप्रतिको अज्ञानताका कारण ती गाउँका किसानहरु आलु खेती बाहेक निर्वाहमुखि खेतीमा निर्भर भइरहेका छन् ।

जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला जातको फलफुलका लागि उपयुक्त भएको र माथिल्लो क्षेत्रका केहि भागमा आलु उत्पादन निकै राम्रो हुने जिल्ला कृषिविकास कार्यालय म्याग्दीले जनाएको छ । आधुनिक प्रविधिको खेतीप्रतिको ज्ञान, सिञ्चाइ, दक्ष जनशक्ति लगायतको समस्याका कारण ग्रामिण क्षेत्रका केहि जमिनहरुमा गहुँ, फापर, कोदो जस्ता निकै कम आम्दानी हुने खेति लगाउनेगरेका छन् । वर्षातको समयमा लगाइने यस्ता खेतीले माटोसुहाउँदो खेतिको तुलनामा दश प्रतिशतभन्दा कम उत्पादन भएको कृषि कार्यालयको ठहर छ ।