पूर्वविद्यार्थीको पुनर्मिलनबाट एक करोड संकलन

0
159

म्याग्दी धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् ।

सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च कटाउँदा न्यून बचत हुने गरेको सन्दर्भमा यहाँको एक विद्यालयले फरक शैली अपनाएर करोडौँ रकम संकलन गरेको छ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फी विकासमा सहयोग जुटाउन विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकको पुनर्मिलन कार्यक्रममार्फत रु एक करोड भन्दा बढी सहयोग जुटाएको हो ।

पुस ७ र ८ गते विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर जुरेको थियो । सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकले खुशी साटासाट मात्रै गरेनन्, उनीहरुले विद्यालयका लागि रु एक करोड ११ लाख सहयोग रकम समेत जुटाए ।

जिल्लामा एकमात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालू शैक्षिक सत्रदेखि शुरु गरेको कक्षा ११ र आगामी वर्ष शुरु हुने कक्षा १२ को पठनपाठनलाई व्यवस्थित गर्न र प्राविधिक शिक्षासमेत थाल्न आर्थिक संकलन गर्ने उद्देश्यले पुनर्मिलनको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

“पूर्वविद्यार्थीबाट उत्साहपूर्णरुपमा सहयोग प्राप्त भयो, अभिभावक, शुभचिन्तक र पूर्वशिक्षकले समेत विद्यालयको भौतिक र शैक्षिक विकासका निम्ति खुलेरै सहयोग गरेका छन्, यो सहयोग रकमलाई कोषको रुपमा स्थापित गर्छौं, आगामी दुई÷दुई वर्षमा समेत यस्तै पुनर्मिलन कार्यक्रम गर्ने हाम्रो योजना छ” – विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो ।

विसं २०१८ मा स्थापना भएको यस विद्यालयबाट अहिलेसम्म करिब तीन हजार विद्यार्थीले अध्ययन सक्याए । उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजनाअनुसार पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिन दिएको मूल संयोजक मोहनप्रसाद रेग्मीले बताउनुभयो ।

समुदायको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले यसै वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु गरिसकेको छ । आगामी वर्ष कक्षा १२ र निकट भविष्यमै प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने विद्यालयको योजना छ । कक्षा ११ र १२ सञ्चालन गर्न मासिक रु दुई लाख खर्च हुने भएपछि विद्यालयले अक्षय कोषको रुपमा राखेर ब्याज रकमबाट खर्च जुटाउन न्यूनतम रु दुई करोडको कोष बनाउने योजना अघि सारेको हो ।

विद्यालयको स्तरवृद्धि गर्दै जाँदा आइपरेको आर्थिक संकटलाई समाधान गर्न विद्यालयकै शैक्षिक उत्पादनलाई सदुपयोग गर्ने नीति अवलम्बन गरिएको प्रधानाध्यापक डण्डपाणि सापकोटाले बताउनुभयो । “सरकारी तवरबाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै उहाँहरुबाट सहयोग जुटाउन थालेका हौँ”– प्रअ सापकोटाले भन्नुभयो ।

विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको पुनर्मिलन कार्यक्रममा विविध कारण स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकले विद्यालयको चौतर्फी विकासका बारेमा समेत छलफल गरे ।

सो अवसरमा विद्यावारिधि गर्न सफल विद्यालयका पूर्व विद्यार्थी डा मीनबहादुर श्रेष्ठ, डा टीकाबहादुर कार्की, डा जीवन बानियाँ र डा चक्रबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्व विद्यार्थीले उदार मनले सहयोग गरेको छ । RSS