रघुगंगा गाउँपालिका प्रमुख गाउँपालिका प्रमुख भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा स्थानीय तहका निर्वाचन प्रचारप्रसारमा गाउँको प्रमुखले गाउँसम्म आउने मोटरबाटो विस्तारमा आफ्नो ब्यक्तिगत सहयोगको प्रतिबद्धता जनाएका थिए ।

चुनावी प्रतिबद्धता अनुसार विस्तार गरिएको सडकको स्थानीयको सहभागितामा भब्य तरिकाले उद्घाटन गरिएको हो गाउँपालिका प्रमुख भण्डारीले चार लाख लगानीमा पाखापानीको फुलडाँडा–औल गाउँ जोड्ने करिव  दुई  किलोमिटरको सडक सरकारी बजेटलाई पन्छाएर प्रमुख भण्डारीको ब्यक्तिगत लगानीमा खनिएको वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले बताए ।

‘उहाँले आफुँले गरेको प्रतिबद्धता पुरा गर्नुभएको छ । गाउँमा सडक पुगेपछि स्थानीय खुसी भएका छन्’ शेरपुञ्जाले भने । उनले विगतमा पनि प्रमुखले मर्मत सहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेको बताए । सडक उद्घाटन कार्यक्रममा प्रमुख भण्डारीले जनतालाई अनावश्यक आश्वासन नदिने र दिएको प्रतिबद्धता पुरा गर्ने बताए ।उनले गाउँपालिकाका सबै बस्तीमा सडक सहितका सञ्जाल पुग्ने बताउँदै जनतालाई कुनैपनि समस्या पर्न नदिने बताए ।

कार्यक्रममा स्थानीयले प्रमुख सहित अतिथिलाई सम्मान सहित भविस्यमा पनि योजनाहरुमा प्राथमिकता दिन अनुरोध गरेका थिए। सडक विस्ता भएपछि ६० घरधुरी लाभाविन्त हुनेछन् । सोही अवसरमा करिव ३७ लाख लगानीमा बेनी–झिँ– पाखापानी सडक, १३ लाखको लागतमा पाखापानी–कुईनेमंगले सडकको अवलोकन समेत गरिएको थियो । गाउँपालिकाको कुईनेमंगलेसम्म सडक सञ्जाल पुग्ने गरी सडक सञ्जाललाई तिब्रता दिने बताइएको थियो ।