दरवाङमा आयोजित शिविरमा १६ सय लाभान्वित, ४७ जनााको मोतियाविन्दुको शल्यक्रिया

0

लायन्स क्लव अफ म्याग्दी दरवाङ र लियो क्लव अफ म्याग्दी दरवाङको आयोजनामा पश्चिम म्याग्दीको दरवाङमा आइतवारदेखि आयोजित तीनदिने वृहत स्वास्थ शिविर र आँखा शिविरमा १६ सय जनाले सेवा लिएका छन् । स्वगीय बुबा ओमवहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा १ रत्नेचौर घर भै हाल मलेशियामा ब्यापार गर्ने दीपक कुमार वोगटीको आर्थिक सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा ८९८ जना र आँखा शिविरमा ७०२ जनाले सेवा लिएको लायन्स क्लव म्याग्दी दरवाङकी अध्यक्ष याममति रोकाले बताईन् ।

उनका अनुसार शिविरमा ४६ जनाको आँखाको शल्यक्रिया, १ जनाको सामान्य अप्रेसन र एक जनालाई रिफर गरिएको छ । ‘शिविरमा अपेक्षा गरेभन्दा धेरै विरामी आउनुभएको थियो ।आगामी बर्ष पनि शिविरलाई निरन्तरता दिनेछौ’ रोकाले बेनीअनलाइनलाई भनिन् ।उनले शिविरमा आवश्यक सम्पूर्ण खर्च समाजसेवी बोगटीले उपलब्ध गराएको बताउँदै आगामी बर्ष पनि सहयोग मागिने बताईन् ।

शिविरमा दरवाङ दिच्यामका १०२ बर्षका ओमलाल निउरे सहित ८० बर्षको उमेर नाघेका विरामीलाई प्राथमिकता दिइएको थियो । शल्यक्रियाबाट आँखा देखेपछि विरामी खुसी भएर फर्किएका थिए ।‘आँखाको पट्टी खोलेपछि धेरैले डाक्टरसंग खुसी साटासाट गरेका थिए । आँखा शिविरले बृद्धबृद्धाको अनुहारमा खुसिको चमक देखिएको थियो’ मालवति थापाले भनिन् ।
शिविरमा दरवाङका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीले समेत स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए ।

मोतियाविन्दुको शल्यक्रिया गरेका विरामीलाई निशुल्क चस्मा र औषधी समेत उपलब्ध गराइएको थियो । करिव १ हजार विरामीको उपचारका लागि आवश्यक पर्ने औषधी सहितको सुविधा उपलब्ध रहेको बताउँदै बाँकी औषधीलाई प्राथमिक स्वास्थ्य चौकीमा उपलब्ध गराउने बताइएको छ ।शिविरबाट फर्किएका विरामीलाई कुनै समस्या भएमा जानकारी गराउन समेत लायन्स क्लव म्याग्दी दरवाङले अनुरोध गरेको छ ।

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा.हरिमाया गुरुङको नेतृत्वमा६ जना प्राविधिक र वृहत स्वास्थ्य शिविरमा डा.राजेन्द्र पौडेल,डा.तिलक गौतम र डा. कृष्ण कडेल लगाएतका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए । शिविरमा मंगला, मालिका र धौलागिरि गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङबाट समेत उपचारका लागि आएका छन् ।

आँखा र वृहत स्वास्थ्य शिविर मंगलवारसम्म संचालन हुने जनाइएको छ ।दुईबर्ष अगाडी समेत बोगटीले उत्तरी पवर्तको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिवीर आयोजनामा आर्थिक सहयोग गरेका थिए । शिविरमा ११८ जनाले मोतियाबिन्दुको शल्यक्रियाका साथै आँखा परिक्षण, परामर्शको साथै निशूल्क औषधि र चस्मा सहित करिव १५ सय सर्वसाधारण लाभान्वित भएका थिए।

सहयोगदात बोगटीले आगामी बर्ष समेत जिल्लाका अति दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी शिविर सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । ‘मैले शिविर सञ्चालनका लागि आर्थिक सहयोग गर्नेछु । आँखा खुलेर आफ्ना छोराछोरी, नातीनातिनालाई हेर्ने बृद्धबृद्धाहरुको खुसी नै मेरो प्रयास हो’ बोगटीले भने। म्याग्दीका दुर्गम क्षेत्रमा उमेर अनुसार लाग्ने रोग मोतियाविन्दुको समस्या भएका बृद्धबृद्धाहरु जनचेतना तथा आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका छन् ।