बेनीनगरपालिका–१० पात्लेखेत पहिरो पिडितलाई म्याग्दी कलाकार संघ काठमाण्डौले आर्थिक सहयोग गरेको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कलाकार संघका अध्यक्ष बिल पुर्जाले पहिरो ब्यवस्थापन तथा आर्थिक संकलन समितिका संयोजक भरत रकाललाई ४५ हजार नगद हस्तान्तरण गरेका हुन् ।

म्याग्दीबाट काठमाण्डौमा बसोबास गर्ने कलाकारको साझा संस्था संघका अध्यक्ष पुर्जाले जिल्लामा विपद्बाट विस्थापित भएकाहरूको समाचार सुन्दा दुख लाग्ने गरेको बताउँदै सहयोगले पात्लेखेतका पहिरो पीडतको उद्धार अभियानमा सहयोग पुग्ने बताए । उनले गीतसंगितका साथै जिल्लाका विभिन्न सामाजिक कार्यमा समेत संघले सक्रियता देखाइरहेको बताउँदै भविस्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पहिरो पीडितका लागि आर्थिक संकलन समितिका सहसंयोजक रकालले सहयोगबाट उत्साहित भएको बताए ।‘पीडितका लागि नभई सिंगो जिल्लाका लागि पनि खुसीको कुरा हो ।पुर्नस्थापनामा सहयोग पुग्नेछ’ उनले भने ।

कार्यक्रममा संघकी उपाध्यक्ष लाली बुढाथोकी, सचिव राम गगन, कलाकार कल्याणकारी कोष संयोजक जालमायाँ बुढाथोकी, सदस्यहरू कृष्ण परियार, कुमारी चोपाङ, सल्लाहकार सुशिला पुन लगाएतको उपस्थिती रहेको थियो । संघले बार्षिक कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, श्रष्टा सम्मान तथा दर खुवाउने कार्यक्रममा बाढीपहिरो पिडितलाई राहत संकलन गरिएको थियो ।

काठमाण्डौमा कलाकारहरूको संरक्षण संगै म्याग्दी जिल्लाको पुराना कला र संस्कृतिको प्रचारप्रसार गर्ने गरेका छन् । लगातारको बर्षा, भिरालो जमिन,भूमिगतपानी, कमजोर भु–वनावटका कारण हरेक बर्ष विस्तार भइरहेको पहिरोले सिंगो गाउँ नै जोखिमा परेको छ । बस्ती नजिकको बान्द्रखाल्टो पहिरोले क्षती पुगेपछि विस्थापित भएकाको पुर्नस्थापनामा वडा अध्यक्ष रिमप्रकाश पुनको संयोजकत्वमा स्वदेश तथा विदेशबाट आर्थिक संकलन भइरहेको छ ।