देवघाटको महायज्ञ सहयोगार्थ बेनीमा सहयोग समिति गठन

0
323

आगामी माघ महिनाको तेस्रो सातादेखि सञ्चालन हुने गलेश्वर आश्रम देवघाटधाम धनधान्याचल विराट महायज्ञको सहयोगार्थ म्याग्दीमा सहयोग समिति गठन भएको छ । चितवन, नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थल देवघाटमा हुन लागेको महायज्ञका लागि मङ्गलबार बेनीमा सम्पन्न भेलाले सरोज बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, जीवनबहादुर विश्वकर्मा र बिक्रम श्रेष्ठ तथा कोषाध्यक्षमा हरिप्रसाद पौडेल रहेका छन् । समितिमा अन्य पदाधिकारी र सदस्यहरुको भने सहयोग समितिको वैठकमार्फत पछि पूर्णता दिइने बताइएको छ ।
यसैबीच मङ्गलबारै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महायज्ञको बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा महायज्ञका सङ्कल्पकर्ता अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले जानकारी दिएका थिए । उनले ८ करोडको लागतमा निर्माण गरिएको मन्दिरमा शिवलिङ्ग तथा मूर्तिहरुको प्राण प्रतिष्ठा गरिने बताए । उक्त मन्दिर निर्माणका लागि विशुद्ध भक्त एवं दानदाताहरुबाट सहयोग प्राप्त भएको उनले बताएका छन् ।

स्वामी आत्मानन्दका अनुसार माघको २१ गतेदेखि फागुनको २ गतेसम्म ११ दिन सञ्चालन हुने महायज्ञमा मूर्तिहरुको प्राण प्रतिष्ठा गरिनेछ । यसैगरी महायज्ञमा ३ सयजना ब्राह्मणहरुबाट १४ हजार ६४१ पटक रुद्रीपाठ गरिने भएको छ । जिल्ला जिल्लामा महायज्ञको प्रचारप्रसार गरिनुका साथै सहयोग समितिहरु गठन गरिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

गलेश्वर आश्रमले २ सयजना ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्दै आएको छ भने निःशुल्क रुपमा आवासीय सेवासुविधासहित कक्षा १२ सम्म वैदिक सनातन धर्मको संस्कृत विषयको पढाई समेत सञ्चालन गरिएको आत्मानन्द गिरीको भनाई छ । हाल सो संस्कृत विद्यालयमा विभिन्न ठाउँका ८० जना विद्यार्थीहरुले संस्कृत लगायतका विषयहरु अध्ययन गर्दै आइरहेको जनाइएको छ ।

महायज्ञबाट सङ्कलित रकमबाट आगामी दिनमा वृद्धवृद्धाहरुका लागि सेवा केन्द्र स्थापना, देवघाट धर्माथ अस्पतालको सेवा विस्तार, आगन्तुक तीर्थयात्रीहरुलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन, संस्कृत विद्यार्थीको पढाइमा सघाउने र शिवालय मन्दिरका लागि सञ्चित कोष राख्ने लगायतका भावी योजनाहरु राखिएको छ ।