नवनिर्वाचित सांसदलाई क्षत्री समाजद्वारा सम्मान

0

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको हो ।

गत मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदहरु भूपेन्द्रबहादुर थापा, नरदेवी पुन र विनोद केसीलाई सम्मान गरिएको हो । उनीहरुलाई क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँ, सहसचिव विरबहादुर थापा, निर्वतमान अध्यक्ष क्या. मिनबहादुर कार्की र बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल लगायतले अबिर तथा खादा लगाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

सम्मान ग्रहणपछि बोल्दै प्रतिनिधिसभामा निर्वाचित सांसद भूपेन्द्रबहादुर थापाले समाज रुपान्तर, विकासक्रम र राजनीतिक परिवर्तनका लागि जातिय नारा लगाउन नहुनेमा जोड दिए । उनले राज्यबाट पाउने सेवासुविधाहरु सबै नागरिकले वर्गीय आधारमा पाउनुपर्ने बताउँदै समाजका सबै जातजातिहरुबीच आपसी सद्भाव र भातृत्वको विकास गरी अगाडि बढ्नुपर्ने बताएका छन् । प्रदेशसभाका निर्वाचित सांसद विनोद केसीले देश निर्माणमा क्षत्रीहरुको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई समान अधिकार दिइनुपर्ने बताएका थिए ।

क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षता र सचिव कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षत्री महिला समाजका सचिव सन्जु बरुवालले स्वागत गरेकी थिइन् ।यसैबीच नजिकिँदै गरेको क्षत्री समाज म्याग्दीको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा जिल्लाका वडास्तरमा समाजका गाउँ कार्यसमिति पूनर्गठन गरिएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटमा सम्पन्न क्षत्रीहरुको भेलाले दिलबहादुर कार्की अध्यक्ष, कमला खत्री उपाध्यक्ष, शिवकुमार खत्री सचिव, भीमबहादुर पौडेल कोषाध्यक्ष र देवी सापकोटा सहसचिव रहेको समिति गठन गरिएको छ ।