बेनी सामुदायिकको लोभलाग्दो प्रगतिले शैक्षिक भ्रमणको लर्को

0
326

म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको बेनी सामुदायिक माविमा गतहप्ता दुईवटा विद्यालय शैक्षिक भ्रमणमा आए ।नमुना सामुदायिक विद्यालय, उत्कृष्ट ब्यवस्थापन, प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगतिको सिको गर्ने देशभरबाट भ्रमणका लागि आउने गरेका हुन् ।

गत हप्ता नेपाल लोकसेवा मावि नवलपुर, नवलपरासी र विरेन्द्र मावि, स्याङ्जाका ब्यवस्थापन समिति र शिक्षक सहितको टोलीले विद्यालयका अभ्यास, शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रक्रिया, भौतिक पुर्वाधार,विद्यालयप्रति अभिभावकको सक्रियता, विद्यार्थीको शैक्षिक प्रगति लगाएत उत्कृष्ट सामुदायिक विद्यालय बनाउन विद्यालयले प्रयोग गरेका अभ्यासका बारेमा जानकारी लिएको बेनी सामुदायिक विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए।

‘प्रवेशद्धार देखी कक्षाकोठासम्म विद्यालयले बनाएको नियमका बारेमा जानकारी गराइयो ।राम्रो अभ्यासको सिको सामुहिक प्रतिबद्धता जनाएर फर्कनुभयो’ श्रेष्ठले भने ।उनका अनुसार नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म ८५ वटा सामुदायिक विद्यालयले भ्रमण गरेको बताए ।

शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसएसलीको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशतलाई प्रस्तुत गरिएको थियो ।

जिल्लामा रहेका सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट र निजी विद्यालयसंग समेत प्रतिस्पर्धा गरी विगतका एसएलसी र गतबर्षको एसईईमा नतिजा ल्याएको विद्यालयका बारेमा जानकारी पाएपछि शैक्षिक अवलोकनमा आएको नेपाल लोकसेवा माविका प्रधानध्यापक लेकराज भण्डारीले बताए ।

‘एउटा नमुना विद्यालय बन्न आवश्यक सबै यहाँ देखियो, हामीले पनि यहाँका राम्रा अभ्यासलाई तत्काल लागु गर्नेछौ’ भण्डारीले भने । उनले विद्यालयमा अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान, दैनिक अभिभावकको अनुगमन समेत देखिएको बताए ।

अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतले समेत विद्यालयका अति आवश्यकतालाई तत्काल ब्यवस्थापनमा सहज भएको उनको भनाई छ । अवलोकनको क्रममा निजी विद्यालय समेत छोडेर भर्नाका लागि आउने विद्यार्थीलाई प्रवेश परिक्षाको ब्यवस्था गर्नु सकारात्मक भएको बताउँदै नयाँ विद्यार्थी भर्नामा प्रवेश परिक्षाले समेत विद्यार्थीको गुणस्तरीय शिक्षालाई सहयोगी भएको बताएका थिए ।

अवलोकन भ्रमणको क्रममा अभिभावकले समेत विद्यालयमा गर्ने दैनिक अनुगमन सहितका कार्यहरू जानकारी गराएपछि भ्रमणमा आएका शिक्षक अभिभावक संघका पदाधिकारीले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन समेत अभिभावको भ्रमण आवश्यकता रहेको बताएका थिए । भ्रमणमा आएका विद्यालय टोलीलाई भब्य स्वागतका साथै सिकाईको अभ्यास गरिएमा जानकारी गराउन समेत अनुरोध गरिएको बेनी सामुदायिक माविका ब्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

‘यहाँ भ्रमण गरेर फर्किएका धेरैले आफ्नो विद्यालयमा प्रयोग गरेको देखिएको छ । हामीलाई केही विद्यालयले भ्रमणका लागि अनुरोध समेत गरेका छन’ उनले भने। विद्यालयको शैक्षिक प्रगतिका लागि अभिभावकाको सक्रियता समेत महत्वपूर्ण हुने भएकाले कक्षा ४ देखी १० कक्षासम्म कक्षागत अभिभावक समिति समेत बनाइएको उनले बताए । शिक्षक र कर्मचारीको जागिरे प्रबृत्ती नहुनुले पनि विद्यालयले अपेक्षा गरे अनुसारको शैक्षिक प्रगती प्राप्त गरेको बताए ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

अभिभावकको निगरानी बढ्यो
विद्यालयमा अभिभावकले आफ्नो बालबालिकाको खड्के निगरानीले समेत शैक्षिक गुणस्तर बढाएको छ ।विद्यालयले प्रावि देखी माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक विद्यालयमै पुगेर छोराछोरीको कमिकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने गरेका छन् । कक्षा ४ देखी १० सम्म कक्षागत ७ जनाको समिति बनाइएको छ ।

समितिले कक्षामा अध्ययरत विद्यार्थीका अभिभावक संग समेत सहकार्य गरी दैनिक विद्यालयका शिक्षकसंगै कक्षा कोठासम्म पुगेर बालबालिकाको शैक्षिक गतिविधिका बारेमा जानकारी लिने गरिएको छ । निमावी र मावितहमा अध्यायरत विद्यार्थीले बढ्दो सुचना सञ्चारका साधनहरू जस्तै मोबाइल, इन्टरनेटको प्रयोगमा आर्कषित हुन थालेपछि प्रयोगमा रोक लगाइएको अभिभावक याममायाँ विकले बताईन् ।

‘घर देखि विद्यालयमसम्म विद्यार्थीको गतिविधिलाई निगरानीमा राख्ने गरेका छौ । अभिभावकलाई शिक्षकबाट समेत राम्रो सहयोग छ’ उनले भनिन् । अभिभावकलाई जानकारी गराउन विद्यार्थीको ब्यक्तिगत विवरण समेत राखिएको छ ।घरमा विद्यार्थीले लुकेर गर्ने क्रियाकलाप समेत अभिभावकले शिक्षकलाई जानकारी दिने गरिन्छ । कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालो गरिन्छ ।

हरेक तिन महिना विद्यालयले लिने त्रैमासिक परिक्षा र मासिक विद्यार्थी मुल्यांकनको फाराम अभिभावकहरुलाई उपलब्ध गराइने र त्यो अभिभावकले मुल्यांकन गरेर शिक्षकहरुलाई सुझाव दिने व्यवस्था पनि विद्यालयले मिलाएको छ। आधारभुत तह देखी माविसम्म ८८२ विद्यार्थी अध्ययरत छन् । विद्यालयको े औसत उत्तिणा ९५.४७ प्रतिशत रहेको छ ।