विद्यालयमा स्थापना भएको पुस्तकालयले विद्यार्थीको पढ्ने बानीको विकास गराएको बुधबार मालिका गाउँपालिका–४ ओखरबोट फुलबारीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ मार्फत चारबर्ष अगाडी विद्यालयमा स्थापना भएको पुस्तकालय भित्र रहेका पुस्तक सहितका साम्रागीको प्रयोगले विद्यार्थीको पढाई प्रतिको रुची बढेको बताइएको थियो ।

चारबर्ष सम्झौता अनुसार पुस्तकालय कार्यक्रमको समापन संगै आयोजित समिक्षा कार्यक्रममा विद्यालयका चन्दादाता एवम् सल्लाहकार बलराम शर्माले पुस्तकालयलाई समुदायको स्वामित्वमा ल्याउने तथा अभिभावकलाई समेत पुस्तकालयको प्रयोग गर्न थालेपछि पुस्तकालयका गतिविधिमा अभिभावको सहभागिता समेत बढेको बताउनुभयो । उहाँले पुस्तकालयको नियमित सञ्चालन गर्न पुस्तकालय कोष बृद्धि, साप्ताहिक कार्यक्रम सहित विभिन्न रचनात्मक क्रियाकलापमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन म्याग्दी शाखा तथा विद्यालय पुस्तकालय कार्यक्रमका संयोजक हरिकृष्ण गौतमले बालबालिकालाई पाठ्यक्रममा सिमित राख्दा शैक्षिक गुणस्तर बृद्धि, पढाई प्रतिको आर्कषण बढाउन समस्या भइरहेको बताउनुभयो । विद्यालयमा स्थापना गरिएका पुस्तकालयले नियमित पुस्तकालयको प्रयोग गर्न शिक्षकलाई घण्टी तालिका,पठन क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको स्तरमापन गर्ने विधिको प्रयोगले विद्यार्थीलाई आत्मनिर्भर स्वतन्त्र पाठक बन्न सहज भएको बताउनुभयो ।

चारबर्ष समिक्षाको अवसरमा सहभागि अभिभावकले आफ्ना छोराछोरीले पुस्तकालय भित्रका पुस्तक नियमित लैजाने गरेको बताएका थिए ।कार्यक्रममा पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यालयका प्रधानध्यापक चुडामणी सापकोटाले नियमित पुस्तकालयको प्रयोगका लागि घण्टी तालिका, विद्यार्थीको छुटै पुस्तक जारी रजिष्टर,धेरै पुस्तक पढ्ने विद्यार्थी,अभिभावक, शिक्षक सम्मान, घरदैलो कार्यक्रम, पुस्तकालय कोषको स्थापना, आर्थिक सहयोग, पढाई प्रस्तिपर्धा लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

पुस्तकालय कार्यक्रम अन्र्तरगत विद्यालयमा ४ हजार पुस्तक, फर्निचर सहित करिव ७ लाख बराबरको साम्रागी उपलब्ध गराइएको थियो । समिक्षा कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम विक्रम मल्ल, स्वागत पुस्तकालय शिक्षक सरस्वती शर्मा अर्याल, सञ्चालन प्रअ चुडामणी सापकोटाले गर्नुभएको थियो । विद्यालयमा प्लान नेपालको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन मार्फत नै पढाई विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।

विज्ञापन