जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सदरमुकाम बेनीमा निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर शुरु भएको छ । स्वास्थ्य तथा परिवार नियोजनमा अन्तर्राष्ट्रिय सहयोग संस्था (सिप्फो) म्याग्दीको सहयोगमा बेनी अस्पताल परिसरमा शिविर सञ्चालन गरिएको हो ।

व्यवस्थित परिवार बनाई सुखी र सम्पन्न जीवनयापन गराउने उद्देश्यसहित वार्षिक कार्यक्रम अनुसार परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । सन्तानको रहर पुगेका दम्पतिहरुका लागि लक्षित गरी सञ्चालित शिविरमा परिवार नियोजनसम्बन्धी अस्थायी तथा स्थायी सेवाको बारेमा परामर्श समेत दिइने बताइएको छ ।

पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्यापको शिविर आयोजना गरिएकोमा पहिलो दिन आज १७ जनाले नामदर्ता गराएका छन् । तीमध्ये ११ जना पुरुषको भ्यासेक्टोमी गरिएको छ । शिविरमा डाक्टर लक्ष्मी गौतम, ओटी असिस्टेन्ट जानकी केसी र बेनी अस्पतालको ओटी टिमले सेवा प्रवाह गरिरहेको छ । शिविर १४ गतेसम्म बेनी अस्पताल, १६ गते मंगला गाउँपालिकाको अर्मन स्वास्थ्यचौकी, १७ गते मालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, १९ गते अन्नपूर्णको भूरुङ–तातोपानी र अन्तिम दिन पुनः २० गते बेनी अस्पतालमा सञ्चालन गरिने भएको छ ।

गतवर्ष स्थायी बन्ध्याकरण शिविरबाट ५५ जना सेवाग्राहीहरु लाभान्वित भएका थिएभने यसवर्ष एकसय जना पुग्ने अनुमान गरिएको परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रम सुपरभाइजर रेग्मीको सञ्चालन र बेनी अस्पतालका निमित्त प्रमुख डा. अम्बालिका शाक्यको अध्यक्षतामा सुरु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले नियमित रुपमा परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।