गुणस्तरीय र सर्वसुलब स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने गरी उपचार खर्चमा नागरिकको वित्तिय सुरक्षा प्रदान गर्न एक बर्ष अगाडी म्याग्दीमा संचालित स्वास्थ्य विमा कार्यक्रममा विस्तारै सर्वसाधारणको आर्कषण बढ्न थालेको छ। ०७३ साल फागुनबाट सुरु भएको विमा कार्यक्रममा ७ हजार १ सय ६० जनाको पहुँचमा पुगेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीका दर्ता अधिकृत यज्ञराज ढुंगेलले जानकारी दिए ।

उनका अनुसार विमाको पहुँचमा रहेका मध्ये ३८ सय ३१ म्हिला र ३३ सय २९ पुरुष छन् । १६ सय ७४ घरधुरी स्वास्थ्य विमाको पहुँचमा रहेको समितिले जनाएको छ । चालु आर्थिक बर्षमा २० प्रतिशत लक्ष्य राखिएकोमा ६.३०% प्राप्ती भएको जिल्ला प्रवन्धक अर्जुन पण्डितले बताए ।

उनले जिल्लाभर कार्यरत दर्ता सहयोगीमा धेरै महिला भएकाले पनि विमाको महत्व महिलालाई बुझाउन सहज भएको भएको बताउँदै अधिकांस पुरुष रोजगारको खोजीमा देश बाहिर भएकाले पनि संख्यामा कमी देखिएको बताए । स्वास्थ्य विमाका बारेमा सर्वसाधारणलाई विभिन्न माध्यमबाट प्रचारप्रसार सहित महत्वका बारेमा जानकारी गराइएको छ ।

विमा बापत हालसम्म ४३ लाख ७८ हजार ६२० रुपैयाँ संकलन भएको छ भने सेवा उपलब्ध गराएवापत बेनी अस्पताललाई १३ लाख २९ हजार ९३६ र प्राथमिक स्वास्थ्य केन्द्र दरवाङलाई १ लाख ५३ हजार ५२४ रुपैयाँ भुक्तान गरिएको छ । स्वास्थ्यमा वित्तिय भार न्यूनिकरण गर्न कार्यक्रमले प्रभावकारी भूमिका खेलेको अवस्थामा विमाको महत्वका बारेमा जानकारी भएकाहरू समेत सेवाबाट बाहिर देखिएकाले स्थानीय तहमै पुगेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ ।

दर्ता सहयोगीलाई स्थानीयस्तरमा रहेका विद्यालय सहित सामाजिक संघसंस्थाले समेत विमा सेवामा आवद्ध हुन सघाइरहेका छन् । दर्ता सहयोगी (स्वयंमसेवक)ले विमितलाई तोकिएका अस्पताल, केन्द्रबाट प्राप्त हुने सेवाका साथै उपलब्ध नभएका सेवासुविधाका बारेमा समेत जानकारी गराउने गरेका छन् ।  विमा गरेवापत सेवाग्राहीले बेनी अस्पतालबाट २५ सय १९ जनाले सेवा लिएका छन भने २४ जना रिफर, २१ जना भर्ना भएको समितिले जनाएको छ । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र दरवाङबाट ५ सय ५१ जना, ७४ जना रिफर र ८ जना भर्ना भएर सेवा लिएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय अन्र्तरगत नगरपालिका र गाउँपालिकाका वडामा रहेका स्वास्थ्य चौकी र सार्वजनिक कार्यक्रममा समेत स्वास्थ्य विमा सम्बन्धि शिक्षालाई समेत प्राथमिकता दिएको बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताए । ‘उनले नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचय पत्र भएका अति गरिबलाई १ सय प्रतिशत, गरिबलाई ७५ प्रतिशित र सिमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकममा छुटको ब्यवस्था समेत गरिएको छ ।

स्वास्थ्य विमाको सदस्यता दर्ता गरेको दुईदेखी तीन महिनाभित्र सेवा लिन मिल्ने भएपनि प्रयाप्त जानकारीको अभावमा सेवाग्राहीले दुईतीन दिनभित्र नै सेवाको माग गदैं अस्पतालमा पुग्ने गरेका गुनासो स्वास्थ्यकर्मीले गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नितिमा समेत नेपाली जनताको सम्रग स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ ।

विमा सेवा लिएपछि सुचिकृत औषधी र सेवा सहजै उपलब्ध रहेको अस्पतालले जनाएको छ । एक परिवारको ५ जना सदस्य भएमा बार्षिक २५ सय भुक्तान र सो भन्दा बढी भए प्रति सदस्य ४२५ रुपैयाँको दरले थप गरी एक परिवारले बार्षिक ५० हजारसम्मको औषधी, प्रयोगशाला, बहिरङ्ग, शल्यक्रिया, अन्तरङ्ग लगाएत नेपाल सरकारले निशुल्क उपलबध गराएका बाहेका सुविधा उपलब्ध हुने ब्यवस्था रहेको छ ।