म्याग्दी जेसीजको आयोजनामा सम्पन्न हुन गैरहेको १६औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फूटनमा अलग पहिचान, खेल विकास अभियानमा म्याग्दी जिल्लाकै शान’ भन्ने नारासहित आयोजना गरिएको जेसीज कप फूटबलको तयारीलाई तीव्र पारिएको हो ।

बिहीबार जेसीज कप फूटबल व्यवस्थापन समितिद्वारा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराइएको छ । सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक एवं म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले हालसम्म ८० प्रतिशत तयारी सकिएको बताए । उनका अनुसार प्रतियोगिताका लागि खेलमैदान व्यवस्थापन, पत्राचार, प्रचारप्रसार लगायतका तयारीलाई तीव्र पारिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३४ हजार, द्वितीयलाई १७ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने उनले बताएका छन् । यसैगरी प्रतियोगितामा विभिन्न विधातर्फ पनि सम्मान गरिने बताइएको छ । प्रतियोगिताको अवसरमा चौथो जेसीज कप–२००५ का उत्कृष्ट प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता कुमार गुरुङलाई सम्मान गरिने भएको छ । त्यस्तै प्रथमदेखि पाँचौं जेसीज कप खेलाउने पूर्व अफिसियल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई पनि सम्मान गरिने म्याग्दी जेसीले जनाएको छ ।

यस वर्षको जेसीज कप फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि पाँचलाख ६ हजार आठसय रुपैयाँ अनुमानित आयव्यय प्रस्तावित गरिएको संयोजक श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष स्मृति कोष रहेको छ भने जेसीजमा आबद्ध व्यक्तिहरुले आफन्तजनको स्मृतिमा विभिन्न अवार्डहरु स्थापना गरिदिएको म्याग्दी जेसीजका कानुनी सल्लाहकार नवराज पौडेलले जानकारी दिए ।

प्रतियोगिताका लागि हालसम्म विभिन्न १८ विद्यालय सम्पर्कमा आएको बताउँदै म्याग्दी जेसीजका अध्यक्ष नारायणकुमार बरालले शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले खेलकुदले अनुशासन सिकाएर मानिसलाई सही मार्गमा हिँड्न सिकाउने हुँदा युवाहरुलाई कुलतबाट जोगाउने बताएका थिए ।

कार्यक्रममा म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष भीमसेन बराईली, जेसीजका पदाधिकारी र पत्रकारको सहभागिता रहेको थियो । म्याग्दी जेसीजले सन् २००१ देखि हालसम्म निरन्तर रुपमा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।