रघुगंगा गाउँपालिका–१ बेगखोलास्थित तिप्ल्याङमा आगोलागीका क्षती पुगेको दुई घरपरिवालाई नेकपा एमाले म्याग्दीले सहयोग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीको नेतृत्वमा गएको टोलीले आगोलागीबाट पुगेको क्षतीको अवलोकन गदैं पीडितलाई राहत हस्तान्तरण गरेको थियो ।

जिल्ला सचिव बालकृष्ण सुबेदीका अनुसार अनुसार संकलन गरिएको १ लाख ६ हजार ११५ रुपैयाँ मध्ये बेगबहादुर पूर्जालाई ९५ हजार ११५ र राजकुमारी तिलिजालाई ११ हजार हस्तान्तरण गरिएको बताए । पुर्जाको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो भने राजकुमारी तिलिजाको आंशिक क्षती भएको थियो । ‘थप सहयोगका लागि पहल गर्नेछौ । राहत संकलन अभियानमा जुट्न समेत अनुरोध अपिल गर्दछौ’ सुबेदीले भने ।राहत रकम बुझ्दै पीडितले आगलागीले विस्थापित बनाएको बताउँदै सहयोगदाता प्रति आभार प्रकट गरेका थिए ।

पूर्जाको फर्निचरमा एक्कासी विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। आगोलागीबाट उनको फर्निचर तथा घर जल्दा ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोे छ । पूर्जाको घर, फर्निचर, १५० ओटा कुखुरा, लत्ताकपडा, नगद एकलाख र तीन तोला सुन जलेर नष्ट भएको उनले बताए । यसैगरी आगोलागीले पूर्जासँगै जोडिएको तिलिजाको घर जल्दा नगद १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तिलिजाको आगोलागीले ५० ओटा कुखुरा मरेका छन्भने कुखुरा, घर, लत्ताकपडा र भाँडावर्तनसहित १७ लाख बराबरको क्षति भएको छ ।

पीडितलाई गाउँपालिका, बेगखोला कल्याणकारी समाज कास्कीले सहयोग गरेको थियो । बेगखोलाको सामाजिक कार्यमा सक्रिय रहेका दुवै पीडितको घर पुर्ननिर्माण सहितको अभियान सञ्चालन गर्ने समेत तिप्लाङबासीले अनुरोध गरेका छन् । नेकपा एमालेको जिल्ला कमिटीबाट संकलन भएको राहत हस्तान्तरण कार्यक्रममा एमालेका यूवा नेता सन्तोष रावल, युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा, यूवा संघका पूर्व अध्यक्ष दिनेश केसी, यूवा संघका जिल्ला अध्यक्ष प्रविण शाही लगाएतको उपस्थिती रहेको थियो ।