स्वर्गिय दिदीको सम्झनामा दुईभाईले स्थापना गरेको रेखा स्मृति कोषले शैक्षिक क्षेत्रमा सहयोग गदैं आइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ घारकी रेखा बरुवालको स्मृतिमा बद्री र केदार बरुवालले स्थापना गरेको कोषले घारको मुक्तिमार्ग माविमा हरेक बर्ष विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने गरेको छ ।केही दिन अगाडी ५९ औ बार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ५ मा अध्ययरत इश्वर खड्का र कक्षा ६ की सिता खड्कालाई रेखा अवार्डका साथै शैक्षिक साम्रागी उपलब्ध गराइएको कोषले जनाएको छ ।

गाउँमै दुर्घटनामा ज्यान गुमाएकी दिदीको स्मृतिमा सन् २०१२ मा स्थापना गरिएको कोषले हरेक बर्ष विद्यालयले छनौट गरेका दुई विद्यार्थीलाई सहयोगका साथै देशका विभिन्न स्थानमा समेत गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहयोग गदैं आइरहेको बद्री बरुवालले बताए ।‘हरेक बर्ष सहयोग गदैं आइरहेका छौ, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौ’ उनले भने।

कोषले मानवसेवा आश्रमसंग समेत सहकार्य गरी विभिन्न कार्यक्रमको योजना बनाएको बरुवालको भनाई छ ।मात्रृभुमि यूवा अभियानका अभियान्ता समेत रहेका बरुवालले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको आर्थिक समस्या समाधान गर्ने गरी भविस्यमा कोषमा रकम बृद्धि गरिने बताए । ‘आर्थिक अवस्था कमजोर भएकै कारण पढाईमा कुनै असर हुनहुदैन् । समस्या भएका विद्यार्थीलाई कोष बाहिरबाट पनि सहयोग जुटाउन सकिन्छ’ उनले भने ।

उनले घारमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको बताउँदै राजनीतिक आस्थालाई कुल्चिएर समाज रुपान्तरणको अभियानमा केन्द्रित हुन कोषबाट समेत विभिन्न रचनात्मक गतिविधि गरिने बताए । उनले कोषमा हरेक बर्ष रकम बृद्धि गरी थप विद्यार्थीलाई सहयोग गरिने बताए । कोषले शिक्षाका साथै सामाजिक अभियानलाई समेत प्राथमिकता दिएको छ ।