पछिल्लो समय खासगरी आन्तरिक पर्यटकहरुका लागि गन्तव्यस्थल बनेको लभ्लीहिलमा पूर्वाधार विकासको अभाव भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरामा पर्ने पर्यटकीय एवं रमणीयस्थल लभ्लीहिल, विकासका पूर्वाधारहरुको अभाव झेल्न बाध्य बनेको हो ।

लभ्लीहिलसम्म पुग्नका लागि उपयुक्त पदमार्ग तथा त्यहाँ सार्वजनिक शौचालयको अभाव रहेको छ । यसैगरी खानेपानीको व्यवस्था, होटल तथा रेष्टुरेन्ट, सूचना पाटी, होडिङबोर्ड, पिकनीक स्पोट, बन्जीजम्प, स्वीमिङ पुलजस्ता पर्यटक आकर्षण गर्नसक्ने पूर्वाधारहरुको अभाव देखिएको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा पर्ने लभ्लीहिलमा बालबालिका एवं युवापुस्ता रमाउने र समय बिताउनका लागि कुनै पनि पूर्वाधारहरुको विकास हुन सकेको छैन । आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेको खबरामा अवस्थित पुरानो नाम खाराको डाँडो अहिले लभ्लीहिल बन्न पुगेको छ ।

लभ्लीहिल घुम्न भन्दै बेनीसहित विभिन्न ठाउँबाट दैनिक सयौंको सङ्ख्यामा मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर क्षेत्र, भकिम्ली, पर्वत बेनी र मल्लाजलगायत स्थानहरु मनमोहक देखिन्छन् । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

लभ्लीहिलमा प्याराग्लाइडिङको समेत सफल परीक्षण गरिएको छ । पर्यटकीय एवं रमणीयस्थल भएर पनि विकासका पूर्वाधारहरु बन्न सकेका छैनन् । हालसम्म लभ्लीहिलमा गएको आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको श्रमदानमा झण्डै १२ लाखको लागतमा केही सीमित पूर्वाधार मात्रै बनेका छन् । ती पूर्वाधारबाहेक अन्य कुनै पनि पूर्वाधारको विकास तथा स्थापना गर्न सकिएको छैन ।

चालु वर्षमा लभ्लीहिलमा पूर्वाधार विकासका लागि वडा कार्यालयबाट पाँचलाख रुपैयाँको बजेट विनियोजन भएको लभहिल पर्यटन पूर्वाधार विकास समितिले जनाएको छ । विनियोजित बजेटबाट लभ्लीहिलको बाँकी भाग डिलमा रेलिङ थप गर्ने, खबराको भसभसेस्थित प्रतिक्षालयदेखि लभ्लीहिलसम्म पुग्ने पदमार्ग व्यवस्थित बनाइने र सूचना पार्टी तथा होर्डिङ बोर्डको स्थापनालगायत योजनाहरु सञ्चालन गरिने समितिका अध्यक्ष ध्रुवराज कार्कीले जानकारी दिनुभयो ।

आगामी दिनमा स्थानीय र सरोकारवालासँग आवश्यक समन्वय गरी अगाडि बढ्ने तथा लभ्लीहिलको विकासमा केन्द्रीत हुने उहाँले बताउनुभयो । लभ्लीहिलमा गोलघर, रेलिङ, फोहोर सङ्कलन गर्नेलगायत पूर्वाधारको विकाससँगै आन्तरिक पर्यटन बढेको हुँदा आगामी दिनमा पूर्वाधार विकासलाई जोड दिइने स्थानीय युवा नारायण थापाले बताउनुभयो।