म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको बुधबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ५४९ जना शेयर सदस्य रहेको सहकारीको साधारणसभामा संस्थाका कोषाध्यक्ष सुविन श्रेष्ठले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जिल्लाका प्रवुद्ध व्यक्तिहरुको सक्रियतामा केबुल नेटवर्कको स्थापना गरी सञ्चालन गरिएको बताए । उनले ग्रामीण भेगका जनतालाई सञ्चारमाध्यममार्फत सुसूचित गराउने उद्देश्यसहित केबुल, रेडियो र इन्टरनेट सेवा सञ्चालन गरिएको बताउँदै सञ्चार संस्था नाफामूलक नभई सेवामूलक भएको बताए ।

नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्कीले सञ्चार संस्थाले नागरिकप्रति उत्तरदायी भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने भन्दै सञ्चारमाध्यमबाट गाउँगाउँमा सूचना र सन्देशहरु पु¥याउनुपर्ने बताए ।

जिल्ला हुलाक कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले रेडियो सञ्चालनका लागि लाइसेन्स र इजाजतपत्र नवीकरण गर्नुपर्ने भन्दै डिजिटल एनालग प्रविधिको सिस्टमा गएपछि ग्राहक र संस्था दुवैलाई फाइदा हुने बताइन् । म्याग्दीकाली सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठले संस्था नाफामूलक भन्दापनि सेवामूलक भएको बताउँदै वर्षायामको समयमा चट्याङ पर्दा रेडियोको ट्रान्सफर्मरमा समस्या हुने गरेको बताए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महांघ म्याग्दी शाखा अध्यक्ष तारानाथ शर्मा, बेनी बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश गिरी र शेयर सदस्य अम्बिक श्रेष्ठले मन्तव्य राखेक थिए । कार्यक्रम संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागत र कोषाध्यक्ष सुविन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । २०६४ सालमा स्थापना भएको संस्थाले म्याग्दीकाली केबुल नेटवर्क, एफएम र इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।