मतपरिणाम सार्वजनिक र मुल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु म्याग्दीको विरोध प्रदर्शन

0

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु म्याग्दीले बुधबार सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ ।जनादेशविहिन सरकार, निर्वाचन आयोगको लाचारीपन, भ्रष्टाचार, कालोबजारी, पेट्रोलियम पदार्थको मुल्यवृद्धि र प्रहरी दमनविरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको आयोजनामा भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको राजीनामा समेत मागेका थिए । उनीहरुले विरोध प्रदर्शनका क्रममा सिठ्ठी बजाएर विरोध गर्दै देउवा सरकारको विरुद्धमा नारावाजी गरेका हुन् ।

विरोधपछि भएको कोणसभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले शान्तिपूर्ण आन्दोलन गरेका युवा विद्यार्थीमाथी देउवा नेतृत्वको सरकारको निर्देशनमा प्रहरीबाट दमन गरिएको बताउँदै आफूहरुलाई सडकमा ओर्लिन बाध्य पारिएको बताउनुभयो।उहाँले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे, मुल्यवृद्धि फिर्ता नलिए र तत्काल समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।

केही दिन पहिले सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो भने खाना पकाउने एलपी ग्यासमा समेत प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।