एक विद्यालयका पुर्व विद्यार्थीले ब्यक्तिगत लगानीमा विद्यालयमा भवन बनाएका छन् ।पुर्व विद्यार्थी एवम् इन्जिनियर हर्कमान घर्तीले ११ लाखको लागतमा चार कोठे पक्की भवन बनाएका हुन् । बरंजा घरभई हङकङका सफल नेपाली ब्यवसायीको रुपमा समेत चिनिने घर्तीले जिल्लाकै पुरानो विद्यालयमा भवन अभावका कारण पठनपाठनमा समस्या भएपछि आधादशक अगाडी निर्मित भवनको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विद्यालयको ५९ औ स्थापना तथा अभिभावक दिवसको अवसरमा घर्ती र गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भवनको उद्घाटन गरेका थिए । ‘भौतिकपूर्वाधारको अभावकै कारण पठनपाठनमा समस्या हुनुहुदैन्,मैले भविस्यमा पनि विद्यालयको रचनात्मक गतिविधिमा सघाउनेछु’ घर्तीले भने । उनले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक अभाव लगाएतका समस्याले गुणस्तरीय शिक्षाका लागि समस्या भइरहेको बताउँदै विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्ती गाउँकै विद्यालयमा उत्पादन गर्ने गरी शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

लामो समयसम्म हङकङमा कस्ट्रक्सन कम्पनी, रियलस्टेट लगाएतका निर्माण कम्पनीका संचालकको रुपमा रहेका घर्ती पश्चिम म्याग्दीको दरवाङमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको म्याग्दी खोला हाइड्रो कम्पनीको सञ्चालक समेत हुन् ।उनले आफ्नो विदेशमा आर्जन गरेको सीपलाई म्याग्दीमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।घर्तीले निर्मित गरेको विद्यालयमा कम्प्यूटर, पुस्तकालयका साथै पठनपाठन हुने गरेको विद्यालयका प्रधानध्यापक कृष्णलाल सापकोटाले बताए ।

उनका अनुसार भवनमा पूर्व प्रधानध्यापक भानुभक्त ढकालले ३ लाखको लागतमा अर्को कोठा बनाउन सहयोग गरेको बताए ।विद्यालयको भवन, खेलकुद मैदान लगाएत आवश्यक पूर्वाधारका लागि हिराप्रसाद तुलाचनको परिवारबाट ८ लाख ५० हजार मुल्यको सात रोपनी जग्गा सहयोग गरेको बताए ।अभिभावक दिवसको अवसरमा घर्ती, जीत बहादुर रोका, याम बहादुर रोका, केशव कँडेल, शशीधर कँडेल लगाएत पूर्व विद्यार्थी, खेलाडीलाई प्रमुख अतिथि मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले सम्मान गरेका थिए ।

अभिभावक दिवसको उद्घाटन गदैं गाउँपालिका प्रमुख रोकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन आवश्यक भौतिक पूर्वाधार, दक्ष जनशक्ती, प्रशासनीक सुधार लगाएतका गतिविधिमा आफुँ प्रतिबद्ध रहेको बताए । उनले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको समस्या समाधान गर्ने गरी योजना बनाउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा स्रोतब्यक्ति डेग बहादुर बानियाँ, ३ नम्बर वडा अध्यक्ष कविन्द्र रोका लगाएतले मन्तब्य राखेका थिए । जिल्लामा धेरै सामुदायिक विद्यालय भएको वडाको रुपमा समेत चिनिने बरंजाको एकमात्रै माध्यामिक विद्यालयमा १ देखी १२ कक्षासम्म ५३४ जना विद्यार्थी अध्ययरत छन् । विद्यालयका पूर्व विद्यार्थीले अक्षय कोष मार्फत विद्युतीय पुस्तकालय सहित विभिन्न आर्थिक सहयोग, गरिव तथा विपन्न बर्गका विद्यार्थीलाई छात्रबृद्धि, शैक्षिक साम्रागी समेत वितरण गर्ने गरेका छन् ।
तस्वीर सौजन्य कृष्णप्रसाद सापकोटा