माओबादी शसस्त्र युद्ध प्रभावित क्षेत्रलाई समेटेर आधा दशक अगाडी बनाइएको चारवटा जिल्लालाई जोड्ने गुरिल्ला पदमार्गमा पूर्वाधार बन्न सकेको छैन् ।शसस्त्र युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरूको बीचबाट बनाइएको पदमार्गमा न्यूनतम पूर्वाधार समेत नबन्दा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सास्ती भएको छ ।

निजी पर्यटन ब्यवसायीको पहलमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष,तत्कालिन समयमा जिविस म्याग्दी र पर्वत लगाएतका विभिन्न पर्यटन ब्यवसायीबाट गरिएको प्रयास प्रचारात्मक भएपनि पूर्वाधार विस्तारमा केन्द्रित नहुदाँ दुईवटा प्रदेश जोड्ने नयाँ र आर्कषक मानिएको पदमार्ग ओझेलमा परेको पर्यटन ब्यवसायीको भनाई छ । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ हुदै धौलागिरि गाउँपालिकाको धारापानी,ताकम,मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा,बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुनिचौर, ज्यलबाङ्ग, ढवाङ्ग लगाएतका क्षेत्र पदमार्ग भित्र पर्छन् ।

उच्च पहाडमा समथर भुभाग, तत्कालिन समयमा माओवादीका बरिष्ठ नेताहरूको सेल्टर, यूद्ध अभ्यासका लागि बनाइएका सैन्यतालिमका बक्कर समेत देखिन्छ । माओवादी जनयूद्धमा एकदशक सम्म कब्जामा रहेका बस्तीहरूमा राज्यको उपस्थिती न्युन रहेकाले पदमार्गको भ्रमणको क्रममा गुरिल्ला नामाकरण गरिएको थियो ।

द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र बिदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजिवन, मगर संस्कृतीको अनुभव दिलाउन तथा माओबादीको सेल्टर जस्तै देखिने पूर्वाधारहरू विस्तार गरी उत्कृष्ट पदमार्ग बनाउने गरी सुरेन राना, राज थापा लगाएत ७ जनाको टोलीले स्थलगत अनुगमन समेत गरेका थिए । ‘पदमार्गको भविस्य राम्रो छ, सबैको प्रयासमा यसलाई नमुना पदमार्ग बनाउनुपर्छ’ राज थापाको भनाई उद्धित गदैं म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भने ।

उनले चारवटा जिल्ला समेट्ने पदमार्गले विश्वभरका पर्यटकलाई आर्कषित गर्न सक्ने बताउँदै यसका लागि प्रतिनिधि र प्रदेशसभाका सदस्यलाई समेत बजेट विनियोजना सहित पूर्वाधार विस्तारमा केन्द्रित हुन अनुरोध गरिने बताए । पदमार्गबाट फर्किएपछि म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा पदमार्गमा समेटिएका अधिकांस क्षेत्र युद्धकालिन समयमा माओबादीको सेल्टरका साथै मगर समुदायको बाहुल्य बसोबास रहेकाले पनि बार्षिक ठुलो संख्यामा पर्यटक भित्राउन सकिने बताएका थिए ।

त्यस्तै पदमार्ग भित्र गल्फ सेन्टर, जलविद्युतको समेत सम्भावना रहेकोमगर र अन्य समुदायको संस्कृती, प्राकृतीक सम्पदा, हिमश्रृङखला, ग्रामिण जिवनशैली र स्थानीयबासीको द्धन्द्धकालको अनुभव पदमार्गको विषेशता मानिन्छ ।

पदमार्गबाट फर्किएकाहरूले दिएको जानकारी अनुसार नेपालीलाई ९ दिने, विदेशी १२ दिन र१४ दिनको तिन वटा प्याकेजमा यो पदयात्राको भ्रमण गर्न सकिन्छ । यता पदमार्ग अन्र्तरगत म्याग्दीको प्रवेशद्धार मानिने मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले पश्चिम म्याग्दीलाई जोड्ने पदमार्गको प्रचारप्रसारमा प्रतिबद्ध रहेको बताए ।

‘नयाँ पदमार्गको प्रयोगले स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्छ ।यसका बारेमा आवश्यकता अनुसार छलफल र सहकार्य गर्न तयार छौ’ उनले भने । पश्चिम क्षेत्रका दुर्गम बस्तीमा पर्यटकको आगमनले होमस्टे सहितका संरचनामा समेत सघाउ पुग्ने उनको भनाई छ । पदमार्गको प्रचारप्रसार, नक्सा र गाईड बुकमा पदमार्ग भित्रका अति महत्वपुर्ण क्षेत्रलाई समेट्नुपर्नेमा जनप्रतिनिधिहरुको भनाई छ ।

पदयात्रामा धौलागिरी, सिस्ने, अन्नपूर्ण, चुरेन, कुन्था लगायतका हिमालको अवलोकन गर्न सकिन्छ । नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने चार हजार साठी मिटरको उचाइमा रहेको फागुने लके समेत पार गर्नुपर्ने भएकाले विदेशी पर्यटकलाई यसक्षेत्रमा ल्याउन सजिलो हुने पर्यटन ब्यवसायीहरूको भनाई छ ।

पदयात्राको क्रममा ढोरपाटन शिकार आरक्ष भएर जानु पर्ने भएकाले नाउर, घोरल, झारल, चितुवा र डाँफे लगायतका जनावर र चराहरुको अवलोकन गर्न पाईन्छ । तत्कालिन अवस्थामा माओबादीले क्षती पु¥याएको सरकारी संरचना जस्ताको त्यस्तै राख्नुपर्ने र त्यसका बारेमा आवश्यक जानकारी दिने सुचना केन्द्र हुनुपर्नेमा पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् । विश्वमै चर्चित अन्नपूर्ण, धौलागिरि आधार क्षेत्र जोड्ने पदमार्ग सडक सञ्जालले अस्तब्यस्त बनाएपछि नयाँ र आर्कषक पदमार्गको खोजीमा रहेका विदेशीलाई गुरिल्ला पदमार्गले लोभ्याउन सक्छ ।