जिल्लामा परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुष अगाडी रहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजनामा जिल्लाका विभिन्न क्षेत्रमा आयोजितनिःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा स्थायी बन्ध्याकरण सेवा लिनेमा महिला भन्दा पुरुषले दोब्बर बढी रहेको पाइएको छ ।

गत पुष १२ गते देखी बेनी अस्पताल,दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, अर्मन स्वास्थ्य चौकी, भुरुङ तातोपानी स्वास्थ्य चौकी र बेनी अस्पतालमा सन्तानको रहर पुगेका दम्पतिहरुका लागि लक्षित गरी सञ्चालित शिविरमा ५१ जना पुरुषले भ्यासेक्टोमी र २४ जना महिलाले मिनिल्याप सेवा लिएको परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले बताए ।‘ग्रामिण क्षेत्रसम्म जनचेतना फैलिएको छ ।सन्तानको रहर पुगेपछि पुरुष नै अग्रसर भएर शिविरमा आउने गरेका छन्’ रेग्मीले भने ।

उनले स्वास्थ्य शिविरको ब्यवस्थापन, प्रचारप्रसार सहितका कार्यक्रमहरूमा महिलाको सक्रियताले समेत परिवारमा सन्देश पुगेको बताउँदै परिवारभित्र स्थायी बन्ध्याकरणका लागि पुरुष अगाडी देखिएको बताए । सेवा लिनेमा ३५ बर्ष देखी माथिका रहेका छन् । गतवर्ष स्थायी बन्ध्याकरण शिविरबाट ५५ जना महिला र पुरुषले सेवा लिएका थिए ।

व्यवस्थित परिवार बनाई सुखी र सम्पन्न जीवनयापन गराउने उद्देश्यसहित वार्षिक कार्यक्रम अनुसार परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरलाई बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धौलागिरी गाउँपालिका स्वास्थ्य चौकी र महिला स्वयंमसेविका, सञ्चारमाध्यमबाट प्रचारप्रसार गरी सेवाका बारेमा जानकारी गराइएको अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन न्यौपानेले बताए ।‘विगतमा महिलालाई स्थायी बन्ध्याकरणका लागि दवाव दिने गरिएको थियो, अहिले पुरुषले महिलालाई पन्छाएर आफै सेवा प्रयोग गर्ने गरेका छन्’ उनले भने ।

उनले शिविरमा परामर्श लिन आउनेमा पुरुषको उपस्थिती धेरै भएको बताउँदै ग्रामिण क्षेत्रसम्म स्थायी बन्ध्याकरणका बारेमा जनचेतनामुलक कार्यक्रमहरूको प्रभावकारीता देखिएको बताए । बध्याकरण सेवा प्रयोगमा पुरुष लजालु हुने गरेपनि पाठेघरको समस्या, अत्याधिक मोटोपन,उच्च रक्तचाप लगाएत कमजोर अवस्थाका महिलाको ठाउँमा पुरूषलाई सेवाका बारेमा जानकारी गराउने गरिएको छ ।

पछिल्लो समय बैदेशिक रोजगारबाट फर्किएका पुरुषको स्वास्थ्य परिक्षण, अस्थायी परिवार नियोजनका साधनको प्रयोगमा महिलाले देखाउने गरेको सक्रियता लगाएतका कारणले पनि पुरूष जागरूक भएको शिविरमा सहभागि डा.लक्ष्मी गौतमको भनाई छ । ‘स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिताले परिवारमा पनि विश्वास बढेको छ । ग्रामिण क्षेत्रमा फेरिएको परिवर्तन स्वास्थ्यको क्षेत्रमा सकारात्क सन्देश पनि हो’ डा. गौतमले भनिन् ।

स्थायी बन्ध्याकरणमा सहभागि हुने पुरुषको तुलनामा महिला कमजोर हुने भएकाले पनि भविस्यमा परिवारमा थप सास्तीको सामना गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पुरूषको सक्रियताले सहज भएको उनको भनाई । परिवार नियोजनका अस्थायी साधन पुरुषको तुलनामा महिलाले प्रयोग गर्ने धेरै छन् । स्थायी बन्ध्याकरण पुरुषको बढ्ने गरेपनि अस्थायी साधनको प्रयोगमा महिलाको संख्या तुलनात्मक रुपमा बढी हुने गरेको छ । पुरुषले कण्डमको प्रयोग गर्ने गरेको भएपनि महिलाले पिल्स, डिपो, आयूसिडी, नरप्लान्ट लगाएतका साधन प्रयोग गर्ने गरेको तथ्याङ्कमा देखिन्छ ।