‘अग्रजको सम्मान, अनुजलाई प्रोत्साहन ! भाषा साहित्य समाजसेवा, हाम्रो अभियान’ भन्ने मूल नारासहित म्याग्दी साहित्य सञ्चारको शनिबार बेनीमा दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले प्रगति र कोषाध्यक्ष हिरा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाका प्रमुख अतिथि बुलबुल साहित्यिक पत्रिकाका प्रधानसम्पादक चन्द्रबहादुर लामिछानेले म्याग्दीमा खडेरी परेको साहित्यका गतिविधिलाई म्याग्दी साहित्य सञ्चारद्वारा प्रकाशित बुलबुल पत्रिकाले उज्यालो ज्योती दिएको बताएका थिए । कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, साहित्यकार गणनाथ पौडेल, अजयमिलन श्रेष्ठ र शिव सस्मितले रचनावाचनसहित मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा म्याग्दी साहित्य सञ्चारले एक अक्षयकोषको स्थापना गरेको जनाएको छ । धौलागिरिका साहित्यकारहरुलाई सम्मान गर्ने उद्देश्यसहित एकलाख रुपैयाको अध्यक्षकोष घोषणा गरिएको म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भूषाल घायलश्रीले जानकारी दिएका छन् । उक्त कार्यक्रममा विद्या रिजाल, मंगला कार्की र किरण विश्कर्माले रचनावाचन गरेका थिए । म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घालयश्रीको अध्यक्षता र कोषाध्यक्ष हिरा शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा शंकर चोखालले मन्तव्य राखेका थिए ।